ट्राफिक प्रहरीद्धारा एक वर्षमा दुई अर्ब राजश्व संकलन

5.95K
shares

काठमाडौं । ट्राफिक प्रहरीले एक वर्षमा मात्रै जरिवाना वापत झण्डै दुई अर्ब रुपैयाँ राजश्व संकलन गरेको छ ।
नेपाल प्रहरीले पछिल्लो आर्थिक वर्ष २०८०/८१ मा सम्पादन गरेको कामबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा यो आर्थिक वर्षमा १ अर्ब ७५ करोड ८१ लाख ८६ हजार ७६० रुपैयाँ राजश्व संकलन भएको जानकारी दिइएको हो ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार ट्राफिक प्रहरीले सवारी नियम उल्लंघन गर्नेलाई कारबाही गर्दै आएको छ । केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीका अनुसार सवारी कारबाही मार्फत राजश्व संकलन प्रहरीको मुख्य जिम्मेवारी नभए पनि यातायात व्यवस्था ऐन अन्तरगत कारबाही गर्ने गरिएको छ ।

‘त्यस अनुसार आर्थिक वर्ष ०८०/८१ मा २२ लाख ९१ हजार ८१७ जनालाई कारबाही गरेर झण्डै दुई अर्ब रुपैयाँ राजश्व सरकारी कोषमा जम्मा गरिएको हो’, डीआईजी कार्कीले भने, ‘यस अघि आर्थिक वर्ष ०७९/८० मा एक अर्ब ८८ करोड १४ लाख ५४ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको थियो ।’

यो आर्थिक वर्षमा सवारी दुर्घटनामा परेर २ हजार ३६९ जनाको मृत्यु भएको छ भने ६ हजार १६० जना गम्भीर र २५ हजार ९९६ जना साधारण घाइते भएको कार्कीले बताए । उनका अनुसार, यो अवधिमा ३५ हजार ४०४ सवारी दुर्घटना भएको छ ।

यातायात व्यवस्था ऐनअनुसार निर्धारित भाडादरभन्दा बढी असुली गरे, दुर्घटनामा परेको सवारी तथा यात्रीको हानि नोक्सानी पुर्‍याए, सम्पर्कमा नआए लगायतका कसुरमा ५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ ।

प्रयोजन विपरित सवारी चलाए, सवारी चालक अनुमतिपत्र प्राप्त नगरी सवारी चलाए र सवारीमा बस्ने वा राख्ने मानिस वा मालसामानको हद निर्धारण गरिएकोमा त्यसभन्दा बढी राखेर चलाए दुई हजार रुपैयाँ जरिवाना हुने व्यवस्था गरेको छ ।

के गर्दा कति जरिवाना ?

मादक पदार्थ सेवन गरी सवारी चलाए, सवारी चालक अनुमतिपत्र प्राप्त नगरेको व्यक्तिलाई सवारी चलाउन दिए, यात्रुवाहक सार्वजनिक सवारीमा तोकिए बमोजिमको सिट सुरक्षित नराखे, सार्वजनिक सवारीमा धुम्रपान गरे, खतरापूर्ण सामान ढुवानी गर्ने मालवाहक सार्वजनिक सवारीले सांकेतिक चिन्ह देखिने गरी नराखी सवारी चलाए एक हजार रुपैयाँ जरिवाना हुने व्यवस्था गरेको छ ।

सिट संख्या भन्दा बढी यात्रु राखी सवारी चलाए र लामो बाटोमा यातायात सेवा सञ्चालन गर्ने यात्रुबाहक सार्वजनिक सवारीमा कम्तिमा दुई जना चालक राखेर पालैपालो सवारी नचलाए पनि एक हजार रुपैयाँ जरिवाना हुने भनिएको छ ।

ट्राफिक बत्तीको संकेत पालना नगरे, सवारी अड्याउन वा राख्न निषेध गरिएको ठाउँमा राखे,सवारी मोड्न निषेध गरिएको ठाउँमा मोड, सडकमा गलत साइड तर्फबाट सवारी चलाए, एकतर्फी सडकमा सो विपरित सवारी चलाए, सवारी चलाउन निषेध गरिएको ठाउँमा वा समयमा सवारी चलाए, नम्बर प्लेट नराखी सवारी चलाए, पेटी नवाँधि वा हेल्मेट नलगाई सवारी चलाए, सार्वजनिक सवारीको चालकले यात्री लिन इन्कार गरेको अवस्थामा भने ५ सयदेखि १५ सय रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था छ ।

मादक पदार्थ सेवन, रातो बत्ती, लेन अनुशासन र तीव्र गतिमा कारबाहीमा परेकाहरुले भने अनिवार्य सचेतना कक्षा लिनुपर्ने व्यवस्था छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083