विश्वकप छनोटमा नेपालको विजयी सुरुवात, मलेसिया ३४ रनले पराजित

6.33K
shares

काठमाडौँ । आइसिसी महिला टि–२० र एकदिवसीय विश्वकपको एसिया छनोटमा नेपालले मलेसियालाई ३४ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

थाइल्याण्डको बैंककमा मंगलबार सम्पन्न पहिलो खेलमा नेपालले दिएको १ सय २७ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९२ रनमात्रै बनाउन सक्यो। मलेसियाकी क्रिस्टिना बरेटले २१, विनिफ्रिड दुराइसिंन्गमले १८ तथा साशा आज्मीले १६ बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन्।

नेपालकी करुणा भण्डारी र सरिता मगरले २-२ विकेट लिइन भने कविता कुँवर र सिता रानामगरले एक एक विकेट हात पारिन्।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय २६ रन जोड्यो। ओपनर सिताले ४० बलमा २ चौका प्रहार गर्दै ४२ रनको पारी खेलेपछि नेपाल सो स्कोरमा पुगेको हो। पहिलो विकेटका लागि उनले काजोल श्रेष्ठसँग ४६ रनको साझेदारी गरेकी थिइन। काजोलले १६ रन जोडिन्।

यस्तै दोस्रो विकेटका लागि सिताले इन्दु बर्मा र तेस्रो विकेटका लागि कप्तान रुविना क्षेत्रसँग समान २५–२५ रनको साझेदारी गर्दै नेपालको इनिङ उकासेकी थिइन्। रुविना ३३ रनमा नटआउट रहिन्। २५ बल खेलेकी उनले ३ चौका प्रहार गरिन्। यस्तै इन्दुले १३ रन जोडिन।

प्रतियोगितामा आयोजक थाइल्याण्डसँगै नेपाल, युएई, मलेशिया, चीन, हङकङ र कुवेत गरी ७ टोलीको सहभागिता रहेको छ। प्रत्येक टोलीले राउण्ड रोबिन लिग फर्म्याटमा एकअर्कासँग खेलेपछि शीर्ष स्थानमा रहने टोली विश्वकपको अन्तिम छनोट खेल्ने पाउनेछ।

नेपालले दोस्रो खेल फागुन ९ गते थाइल्याण्डसँग, १० गते संयुक्त अरब इमिरेट्स (यूएई), फागुन १२ गते हङकङ, १३ गते चीन र १५ गते कुवेतसँग खेल्ने तालिका रहेको छ।


divya collage
unigloble collage