तीन महिनामै नेपाल भित्रियो ७ खर्बभन्दा बढी रेमिट्यान्स

असोजमा मात्रै २ खर्ब ६७ अर्ब

598
shares
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो ३ महिनामा नेपालमा ७ खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि असोजसम्म कुल ७ खर्ब ३ अर्ब ७० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो।

यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.२ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको पहिलो तीन महिनामा रेमिट्यान्स आप्रवाह ३५.४ प्रतिशतले वृद्धि भएको थियो। यस वर्ष कुल रकम बढे पनि वृद्धिदर भने केही घटेको देखिएको छ।

राष्ट्र बैंकका अनुसार असोज महिनामा मात्रै २ खर्ब ६७ अर्ब ३४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। गत वर्षको असोजमा २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ भित्रिएको थियो। यसरी एक वर्षको अवधिमा असोज महिनाको रेमिट्यान्स आप्रवाह ६६ अर्ब १२ करोड रुपैयाँले बढेको छ।

अमेरिकी डलरमा गणना गर्दा पनि रेमिट्यान्स आप्रवाहमा वृद्धि देखिएको छ। समीक्षा अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १६.७ प्रतिशतले बढेर ४ अर्ब ६० करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो वृद्धिदर २९.२ प्रतिशत रहेको थियो।

यसैबीच, वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्यामा भने सामान्य गिरावट आएको छ। पहिलो तीन महिनामा १ लाख २१ हजार ८७९ जनाले नयाँ तथा पुनः श्रम स्वीकृतिअन्तर्गत अन्तिम श्रम स्वीकृति लिएका छन्। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १ लाख २३ हजार ४५९ रहेको थियो।

तर, पुनः श्रम स्वीकृति लिनेको संख्या भने बढेको छ। समीक्षा अवधिमा ८२ हजार ३६९ जनाले पुनः श्रम स्वीकृति लिएका छन्। अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा यस्तो संख्या ७७ हजार २५७ रहेको थियो।

समग्रमा वैदेशिक रोजगारीमा जानेको नयाँ श्रम स्वीकृति केही घटे पनि विदेशमा कार्यरत नेपालीबाट नेपाल भित्रिने रेमिट्यान्समा उल्लेख्य वृद्धि भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।