यूएन महासभामा सहभागी हुने प्रधानमन्त्री नेतृत्वको टोलीको भ्रमण स्वीकृत
वि.सं.२०८३ भदौ २५ बिहीवार २०:०४
shares

काठमाडौं । सरकारले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको छ ।
सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी असोज ६ देखि १० गतेसम्म आयोजना हुने महासभामा सहभागी हुन प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो ।
बैठकले भारतको नयाँ दिल्लीमा हुने नेपाल–भारत अन्तरसरकारी उपसमिति (आईजीएससी) बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने निर्णयसमेत गरेको छ । साथै, अनुचित लेनदेन अर्थात् मिटरब्याजसम्बन्धी अपराध नियन्त्रणका लागि विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय भएको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
मन्त्रिपरिषद्ले काठमाडौं, भक्तपुर, ललितपुर, सप्तरी र दाङका २७ स्थानीय तहमा रहेका १७ हजार ४३८ गरिब घरपरिवारको सूची पनि स्वीकृत गरेको छ ।
त्यस्तै, शिक्षक सेवा आयोगको अध्यक्षमा भक्तपुरका डा। हरिप्रसाद लम्साल, सदस्यमा मकवानपुरका रामशरण सापकोटा र महिला सदस्यमा काठमाडौंकी विष्णु घिमिरे रिमाललाई नियुक्त गर्ने निर्णय भएको प्रवक्ता पोखरेलले बताए ।
बैठकले सहसचिव विनोदबहादुर कुँवरलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिवमा बढुवा गर्दै लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवमा पदस्थापन गरेको छ । त्यसैगरी सहसचिव उत्तरकुमार खत्रीलाई पनि सचिवमा बढुवा गरी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय गरेको छ ।






















