धनुषाका प्रहरी प्रमुखमाथि लगाइएको आरोपप्रति आपत्ति, कानुनी उपचारमा जाने चेतावनी
वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१५
shares

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रूपेश खड्काले आफू र प्रहरी संगठनको मर्यादामा आँच आउने गरी भ्रामक तथा तथ्यहीन आरोप लगाइएको भन्दै आपत्ति जनाएका छन्। उनले आरोप पुष्टि गर्न चुनौती दिँदै प्रचलित कानुनबमोजिम कानुनी उपचारमा जाने चेतावनीसमेत दिएका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा हंसपुर नगरपालिका–८, भतही टोलका ५६ वर्षीय लक्ष्मेश्वर यादवले एक कार्यक्रममा भाषण गर्ने क्रममा सरकारी निकाय, जिल्ला प्रहरी कार्यालय र आफ्नो नाम जोडेर आपत्तिजनक टिप्पणी गरेको भन्दै एसपी खड्काले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्।
विज्ञप्तिअनुसार यादवले २०८३ भदौ १७ गते परिवारकी एक महिला सदस्य हराएको भन्दै प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिएका थिए। सो सम्बन्धमा प्रहरीले बुझ्दा ती महिला हराएको नभई काठमाडौं जिल्ला अदालतबाट २०८३ वैशाख ८ गते नै विवाहको नाता कायम भइसकेको र भदौ १४ गते आफ्नो पतिसँग गएको खुलेको विज्ञप्तिमा उल्लेख छ।
प्रहरीका अनुसार घटनाबारे निवेदक तथा परिवारका अन्य सदस्यलाई सम्बन्धित महिलासँग प्रत्यक्ष कुराकानी गराउनुका साथै विवाहसम्बन्धी प्रमाणसमेत देखाएर वास्तविक अवस्थाबारे जानकारी गराइएको थियो।
तर, महिलाले आफ्नो मञ्जुरीबिना विवाह गरेको भन्दै उनलाई र उनका पतिलाई पक्राउ गरी जबर्जस्ती छुटाइदिन यादवले दबाब दिएको एसपी खड्काको आरोप छ। त्यस्तो कार्य गर्न नमाने हजारौँ मानिस ल्याएर जिल्ला प्रहरी कार्यालय घेराउ गर्ने धम्कीसमेत दिएको विज्ञप्तिमा दाबी गरिएको छ।
गैरकानुनी कार्य गर्न अस्वीकार गरेपछि प्रतिशोध साँधेर आफूविरुद्ध अनर्गल तथा तथ्यहीन आरोप लगाइएको एसपी खड्काको भनाइ छ।
उनले प्रहरी संगठनको व्यावसायिकता र आफ्नो व्यक्तिगत मर्यादामा आँच पुर्याउने उद्देश्यले द्वेषपूर्ण टिप्पणी गरिएको भन्दै त्यसको निन्दा गरेका छन्। साथै, लगाइएका आरोप पुष्टि गर्न चुनौती दिँदै सामाजिक सञ्जालमा तथ्य नबुझी सामग्री सेयर नगर्न र भ्रममा नपर्न आग्रह गरेका छन्।
यस विषयमा प्रचलित कानुनबमोजिम आवश्यक कानुनी प्रक्रिया अघि बढाउने जानकारीसमेत जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको छ।












