भोटेकोशी बाढी : सरकारी भवनदेखि जलविद्युत् आयोजनासम्म ठूलो क्षति

416
shares

रसुवा । भोटेकोशी नदीमा आएको बाढीले रसुवामा ठूलो भौतिक क्षति पुर्‍याएको छ । जिल्ला प्रशासन कार्यालयले यही १० गतेको बाढीबाट भएको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गर्दै सरकारी, सार्वजनिक तथा निजी संरचनामा व्यापक क्षति भएको जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार बाढीबाट २८ सरकारी तथा सार्वजनिक भवनमा क्षति पुगेको छ । त्यस्तै आठ सामुदायिक र तीन निजी विद्यालय, १४ बैंक तथा वित्तीय संस्था र एक पेट्रोल पम्पमा समेत क्षति भएको छ । करिब १ हजार ५०० निजी घर प्रभावित भएका छन् ।

बाढीले जिल्लाका ४१ किलोमिटर सडक, ६ पक्की पुल, ८ बेलिब्रिज र १० झोलुङ्गे पुलमा क्षति पुर्‍याएको प्रशासनले जनाएको छ । भोटेकोशी, त्रिशूली र लाङ्टाङ खोलामा निर्माणाधीन तथा सञ्चालनमा रहेका ८ जलविद्युत् आयोजनामा पनि ठूलो क्षति पुगेको छ ।

क्षति पुगेका आयोजनामा १११ मेगावाटको रसुवागढी, १२० मेगावाटको भोटेकोशी, २० मेगावाटको चिलिमे, २० मेगावाटको लाङ्टाङ खोला, २१६ मेगावाटको माथिल्लो त्रिशूली–१, ५ मेगावाटको मैलुङ खोला, ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ र ३७.३ मेगावाटको त्रिशूली–३ ‘बी’ छन् ।

बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेका व्यक्तिको खोजी तथा उद्धार कार्य जारी छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धारमा सक्रियता बढाएका छन् । थप सहयोगका लागि दक्षिण कोरिया, भारत र चीनका विज्ञसमेत प्रभावित क्षेत्रमा परिचालन गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

प्रशासनका अनुसार हालसम्म बाढीपछि १ हजार ३६५ रसुवाली नागरिक, अन्य जिल्लाका १ हजार १६० नागरिक र २६४ पर्यटक सम्पर्कविहीन छन् । यस्तै बैंक तथा वित्तीय संस्थाका २६ कर्मचारी, ७९ सरकारी कर्मचारी, १३ सशस्त्र प्रहरी, २८ नेपाल प्रहरी र २७ नेपाली सेना पनि सम्पर्कविहीन रहेको अधिकारीले जानकारी दिए ।

प्रभावित क्षेत्रमा खाद्यान्न अभाव हुन नदिन हेलिकप्टरमार्फत राहत सामग्री पुर्‍याउने काम भइरहेको प्रशासनले जनाएको छ ।


divya collage
unigloble collage