२४औँ लिस्नु नकआउट फुटबल प्रतियोगिता आयोजना हुदै
वि.सं.२०८३ भदौ २० शनिवार १५:२५
shares

रुपन्देही। लिस्नु युवा क्लब, तिलोत्तमा–१५, कोटिहवाको आयोजनामा २४औँ लिस्नु नकआउट फुटबल प्रतियोगिता–२०८३ आगामी भदौ ३१ गते बुधबारदेखि सुरु हुने भएको छ। क्लबले पत्रकार सम्मेलन र प्रेस नोटमार्फत प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै विस्तृत खेल तालिका (टाई–शिट) र प्रतियोगिता सञ्चालन सम्बन्धी महत्वपूर्ण नियमहरू सार्वजनिक गरेको छ।
तिलोत्तमा नगरपालिका वडा नं. १५ को कार्यालय मुख्य प्रायोजक रहेको यस ऐतिहासिक प्रतियोगिताको फाइनल खेल आगामी असोज ११ गते आइतबार हुनेछ। प्रतियोगिताका सम्पूर्ण खेलहरू तिलोत्तमा–१५ स्थित श्री पशुपति माध्यमिक विद्यालयको प्राङ्गणमा दैनिक दिउँसो ३:३० बजेदेखि सञ्चालन हुनेछन्।विधा र खेल सञ्चालन सम्बन्धी नियमहरूयस पटकको प्रतियोगिता ‘९ ए-साइड’ (9 A-side) को ढाँचामा खेलाइनेछ। खेललाई थप निष्पक्ष र मर्यादित बनाउन जिल्ला फुटबल संघबाट प्रमाणित एन्फा रेफ्री तथा निर्णायक टोलीलाई आमन्त्रण गरिएको छ भने सम्पूर्ण खेलहरू फिफा (FIFA) को नियमानुसार सञ्चालन गरिनेछ। प्रतियोगितामा सहभागी सम्पूर्ण टिमका खेलाडीहरूको खेल अवधिभरका लागि प्रति व्यक्ति १ लाख रुपैयाँ बराबरको दुर्घटना बिमाको व्यवस्था गरिएको छ। प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाउन प्रत्येक टिमले बढीमा २ जनासम्म विदेशी खेलाडीहरू समावेश गराउन पाउने नियम बनाइएको छ। यसका साथै रुपन्देही जिल्ला भन्दा बाहिरका जिल्लाबाट सहभागी हुन आउने टिमहरूका लागि आयोजकका तर्फबाट एकतर्फी सवारी भाडा उपलब्ध गराइने व्यवस्था गरिएको छ।
टिकट, पार्किङ र प्याराफिट व्यवस्थापनखेल अवलोकनका लागि सर्वसाधारणका लागि सुलभ प्रवेश शुल्कको व्यवस्था गरिएको छ। जसअनुसार प्रिक्वाटर र क्वाटरफाइनल खेलका लागि प्रतिव्यक्ति १०० रुपैयाँ तथा सेमिफाइनल र फाइनल खेलका लागि प्रतिव्यक्ति २०० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ। सेमिफाइनल र फाइनल खेलमा महिला दर्शकहरूलाई आकर्षित गर्न प्रवेश टिकट दरमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ भने अन्य दिनका खेलहरू निःशुल्क रूपमा अवलोकन गर्न पाइनेछ। विगतका दिनहरूमा ५०० जना दर्शक मात्र व्यवस्थित रूपमा प्याराफिटमा बसेर हेर्न मिल्ने व्यवस्था रहेकोमा यस वर्ष करिब ३००० जना दर्शकले खेल अवलोकन गर्ने अपेक्षासहित प्याराफिटको क्षमता र व्यवस्थापनमा सुधार गरिएको छ। खेल मैदान परिसरमा पार्किङको समेत उचित व्यवस्था गरिएको छ, जसअनुसार साइकलका लागि १० रुपैयाँ, मोटरसाइकलका लागि २० रुपैयाँ र कारका लागि ५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।रोमाञ्चक खेल तालिका र सहभागी १२ टोलीहरूप्रतियोगितामा देशका स्थापित उत्कृष्ट १२ वटा टिमहरूले सहभागिता जनाउँदै छन्। सहभागी टिमहरूमा आयोजक लिस्नु युवा क्लब (कोटिहवा), झरना स्पोर्ट्स क्लब (कुञ्जलापुर), फर्साटिकर एफ.सी. (फर्साटिकर), मोन्स्टर गाइज (सुनवल), सम्पूर्ण युवा क्लब (सुपौली), फुलबारी गाइज (बुटवल), नवयुवा खेलकुद तथा सांस्कृतिक परिवार (ठुटिपिपल), देवदह ब्वाइज (खैरेनी), होराइजन क्लब (वालिङ, स्याङ्जा), पाल्पा–११ (तानसेन), सूर्यपुरा एफ.सी. (चितवन) र कपिलवस्तु–११ (कपिलवस्तु) रहेका छन्।प्रतियोगिताको उद्घाटन खेल भदौ ३१ गते फुलबारी गाइज र कपिलवस्तु–११ बीच हुनेछ।
यस खेलको विजेताले असोज ४ गते झरना स्पोर्ट्स क्लबसँग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ। यस्तै असोज २ गते सूर्यपुरा एफ.सी. र मोन्स्टर गाइज भिड्नेछन्, जसको विजेताले असोज ६ गते फर्साटिकर एफ.सी. को सामना गर्नेछ। यी दुवै खेलका विजेताहरू असोज ८ गते पहिलो सेमिफाइनलमा भिड्नेछन्। अर्कोतर्फ असोज १ गते आयोजक लिस्नु युवा क्लब र पाल्पा–११ बीच प्रतिस्पर्धा हुनेछ, जसको विजेताले असोज ५ गते रुद्रपुर एफ.सी. सँग खेल्नेछ। असोज ३ गते नवयुवा खेलकुद तथा सांस्कृतिक परिवार र देवदह ब्वाइज आमनेसामने हुनेछन्। यस खेलको विजेताले असोज ७ गते होराइजन क्लबसँग प्रतिस्पर्धा गर्नेछ। यस समूहको सेमिफाइनल खेल असोज ९ गते हुनेछ भने असोज ११ गते उपाधिका लागि फाइनल भिडन्त हुने खेल संयोजक रोमन गुरुङले जानकारी दिनुभएको छ।आकर्षक पुरस्कार राशि र अनुमानित बजेटप्रतियोगिताको विजेताले नगद ३ लाख ५१ हजार १११ रुपैयाँ र उपविजेताले नगद २ लाख १ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
सर्वोत्कृष्ट खेलाडीलाई नगद २५ हजार रुपैयाँ तथा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, सर्वाधिक गोलकर्ता र उदयमान खेलाडीलाई जनही नगद ११ हजार रुपैयाँसहित शिल्ड र मेडल प्रदान गरिनेछ। प्रत्येक दिनको उत्कृष्ट खेलाडीलाई नगद ५ हजार रुपैयाँ र अनुशासित टिमलाई आकर्षक ट्रफी दिइनेछ। क्लबका सचिव मनोज कुमार क्षेत्रीका अनुसार प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्न कुल ३० लाख ३७ हजार २२२ रुपैयाँको अनुमानित बजेट स्वीकृत गरिएको छ। स्थानीय खेलकुदको विकासका लागि आयोजित यस प्रतियोगितामा मुख्य वडा संरक्षकका रूपमा वडा नं. १५ का वडा अध्यक्ष खेमराज गुरुङ लगायतको विशेष सहयोग रहेको क्लबका अध्यक्ष तीर्थराज मल्लले बताउनुभएको छ।
















