गण्डकी प्रदेशमा ७१औँ प्रहरी दिवस–२०८३ को मूल समारोह सम्पन्न
वि.सं.२०८३ असोज ३० शुक्रवार १७:२९
shares

पोखरा।‘विपदमा सारथि संकटमा छहारी, प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ नेपाल प्रहरीले मनाइरहेको ७१औँ प्रहरी दिवस–२०८३ को मूल समारोह गण्डकी प्रदेश प्रहरी कार्यालयको आयोजनामा पोखरामा सम्पन्न भएको छ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मुख्यमन्त्री पाण्डेले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्दै कर्तव्यपालनका क्रममा शहादत प्राप्त अमर प्रहरी कर्मचारीहरूको योगदानको स्मरण गर्नुभयो। उहाँले राष्ट्र र नागरिकको सुरक्षाका लागि आफ्नो जीवन उत्सर्ग गर्ने अमर प्रहरीप्रति श्रद्धासुमन अर्पण गर्नुभएको थियो।
कार्यक्रममा दैनिक प्रहरी कार्यमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारी तथा गण्डकी प्रदेश प्रहरीलाई विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई पुरस्कार र प्रशंसापत्र प्रदान गरिएको थियो।
कार्यक्रममा उपस्थित अतिथिहरूप्रति धन्यवाद ज्ञापन गर्दै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दीपेन्द्र घर्ती क्षेत्रीले देशमा शान्ति, सुरक्षा र अमनचयन कायम गर्न नेपाल प्रहरीले विशिष्ट योगदान पुर्याउँदै आएको बताउनुभयो। उहाँले प्राकृतिक विपद्, शान्ति सुरक्षा तथा अन्य आपत्कालीन परिस्थितिमा प्रहरीले इमानदारी र जिम्मेवारीका साथ आफ्नो भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो। साथै, नेपाल प्रहरीले व्यावसायिक दक्षता अभिवृद्धि गर्दै आफूलाई सक्षम संगठनका रूपमा स्थापित गर्दै आएको उहाँको भनाइ थियो।
यसैगरी, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामकृष्ण अधिकारीले प्रहरी दिवसका अवसरमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीको शुभकामना सन्देश वाचन गर्नुभएको थियो।
समारोहमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, गण्डकी विश्वविद्यालयका कुलपति प्राध्यापक डा. इन्द्रप्रसाद तिवारी, प्रदेश सरकार तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पोखराका आन्तरिक मामिला सचिव तीर्थराज चिलुवाल, नेपाल पूर्वप्रहरी संगठन गण्डकी प्रदेशका अध्यक्ष एकनारायण शर्मा, कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल तथा पश्चिम पृतना हेडक्वार्टर पोखराका पृतनापति उपरथी भोलानाथ थापालगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा अवकाशप्राप्त पूर्वप्रहरी कर्मचारी, अमर प्रहरी परिवारका सदस्यहरू तथा वरिष्ठ प्रहरी अधिकृतहरूको समेत सहभागिता रहेको थियो।
७१औँ प्रहरी दिवसले नेपाल प्रहरीको व्यावसायिकता, जनउत्तरदायित्व, नागरिकसँगको सम्बन्ध र राष्ट्रसेवाप्रतिको प्रतिबद्धतालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
























