लुम्बिनी क्षेत्रको धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनको बारे अन्तरक्रिया
वि.सं.२०८३ कात्तिक १ आइतवार १३:२४
shares

लुम्बिनी। लुम्बिनी क्षेत्रका सांसद तौफिक खानले अशोक विश्वविद्यालयका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई स्वागत गर्दै लुम्बिनीको धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनको सम्भावनाको विषयमा अन्तरक्रिया गरेका छन्।
अन्तरक्रियाका क्रममा लुम्बिनीको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्व, गौतम बुद्धको जन्मस्थलका रूपमा यसको अन्तर्राष्ट्रिय पहिचान र विश्व पर्यटनको केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावनाबारे छलफल गरिएको थियो।
कार्यक्रममा लुम्बिनीको धार्मिक पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने, विदेशी पर्यटकको आकर्षण बढाउने तथा नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय सम्बन्धसँग जोड्ने विषयमा विचार आदानप्रदान गरिएको थियो।
त्यसैगरी, नेपाल–भारत सम्बन्ध, अन्तर्राष्ट्रिय कूटनीति, युवा पुस्ता अर्थात् जेन–जीका विचार तथा समसामयिक विश्व राजनीतिका विषयमा समेत छलफल भएको थियो। अन्तर्राष्ट्रिय विद्यार्थीहरूसँगको यस्तो संवादले विभिन्न देशका युवाबीच आपसी समझदारी, सांस्कृतिक आदानप्रदान र सहकार्यलाई प्रोत्साहन गर्ने आफु तयार रहेको सांसद खानले बताएका छ्न।
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी बौद्ध धर्मावलम्बीका लागि प्रमुख तीर्थस्थल हुनुका साथै विश्व शान्ति, अहिंसा र मानवताको सन्देश प्रवाह गर्ने अन्तर्राष्ट्रिय गन्तव्य हो। लुम्बिनीलाई कपिलवस्तुको तिलौराकोट, देवदह र रामग्रामलगायतका बौद्ध सम्पदासँग जोडेर धार्मिक तथा सांस्कृतिक पर्यटनको एकीकृत गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना छ। लुम्बिनीको धार्मिक पर्यटन प्रवर्द्धन, अन्तर्राष्ट्रिय पहिचान विस्तार र स्थानीय समुदायको आर्थिक विकासमा यस्ता अन्तरक्रियाले सहयोग पुर्याउने विश्वास गरिएको छ।


















