बिचौलियासँग सम्बन्ध र आर्थिक लेनदेनको आरोप निराधार छ : सांसद विश्वराज पोखरेल
प्रमाणबिना आरोप लगाउनु जिम्मेवार पत्रकारिताको मर्मविपरीत
वि.सं.२०८३ कात्तिक १२ बिहीवार १९:००
shares

काठमाडौं । ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्य रहेका विश्वराज पोखरेलले दियोपोस्ट नामक अनलाइनमा आफ्नो नाम जोडेर प्रकाशित समाचारप्रति गम्भीर आपत्ति जनाउँदै उक्त समाचारमा उल्लेखित आरोपहरू निराधार, भ्रामक र कपोलकल्पित भएको बताएका छन्। पोखरेलले प्रेस विज्ञप्ति जारी गर्दै बिचौलियासँगको सम्बन्ध, आर्थिक लेनदेन तथा अन्य विषयमा आफूलाई जोडेर प्रकाशित समाचारले आफ्नो व्यक्तिगत प्रतिष्ठा, सामाजिक छवि र सार्वजनिक जीवनमाथि आघात पुर्याउने प्रयास गरेको दाबी गरेका छन्।
विज्ञप्तिमा उनले कुनै पनि दलाल वा बिचौलियासँग आफ्नो चिनजान, सम्पर्क वा संलग्नता नरहेको स्पष्ट पारेका छन्। समाचारमा उल्लेख गरिएका इनम सापकोटा नामका व्यक्तिसँग समेत आफ्नो कुनै चिनजान, फोन सम्पर्क वा अन्य प्रकारको सम्बन्ध नरहेको उनको भनाइ छ।
प्रमाणबिना आरोप लगाउनु जिम्मेवार पत्रकारिताको मर्मविपरीत
सांसद पोखरेलले प्रमाणित तथ्य र आधिकारिक आधारबिना आफ्नो नामलाई आपत्तिजनक आरोपसँग जोडेर सार्वजनिक गर्नु गलत भएको उल्लेख गरेका छन्। सम्बन्धित विषयमा कुनै प्रश्न वा जिज्ञासा भए प्रत्यक्ष सम्पर्क गरेर तथ्य बुझ्न सकिने अवस्था हुँदाहुँदै एकपक्षीय र अप्रमाणित सामग्रीका आधारमा समाचार प्रकाशन गर्नु जिम्मेवार पत्रकारिताको मर्मविपरीत भएको उनको भनाइ छ। उनले आफ्नो नाम जोडेर प्रकाशित समाचारको गल्ती सच्याउन र आफ्नो आधिकारिक धारणा समेट्न सम्बन्धित अनलाइन सञ्चारमाध्यमलाई आग्रहसमेत गरेका छन्।
आफ्नो प्रतिष्ठामा आँच पुर्याउने उद्देश्यले झुटा, भ्रामक तथा आधारहीन सामग्री प्रचारप्रसार गरिएको पाइएमा प्रचलित कानुनबमोजिम आवश्यक कानुनी उपचार खोज्ने अधिकार सुरक्षित रहेको पनि उनले विज्ञप्तिमार्फत जनाएका छन्।
३५ वर्षदेखि राष्ट्रसेवामा समर्पित रहेको दाबी
पोखरेलले आफू सत्य, तथ्य र विधिको शासनमा विश्वास गर्ने व्यक्ति भएको उल्लेख गर्दै ३५ वर्षदेखि निरन्तर रूपमा देश र नागरिकको सेवामा समर्पित हुँदै इमानदारी, निष्ठा र जिम्मेवारीपूर्वक कर्तव्य निर्वाह गर्दै आएको बताएका छन्।
आफ्नो व्यावसायिक निष्ठा र सामाजिक सेवाको यात्रामा कुनै दाग लाग्न नदिई राष्ट्रसेवामा समर्पित रहँदै आएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि सत्य, निष्ठा र इमानदारीका साथ राष्ट्र र जनताको सेवामा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताका रूपमा ओखलढुंगावासीको सेवामा निष्ठापूर्वक अहोरात्र खटिने प्रतिबद्धता व्यक्त गर्दै पोखरेलले जनविश्वासलाई आफ्नो जीवनको सम्पत्ति र शक्ति भएको बताएका छन्।
प्रेस विज्ञप्तिको अन्त्यमा उनले सत्य र तथ्यका आधारमा आफूविरुद्ध प्रकाशित समाचारको खण्डन गर्दै आफ्नो प्रतिष्ठामाथि आँच पुर्याउने दुष्प्रयासको विरोध गरेका छन्।
(विज्ञप्ति सहित)

















