भोटेकोशी बाढी प्रभावित विद्यार्थीको मनोसामाजिक अवस्था बुझेर मात्रै कक्षा सञ्चालन गर्न निर्देशन
वि.सं.२०८३ भदौ २४ बुधवार २०:५२
shares

२४ भदौ, काठमाडौं । शिक्षा विभागले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित विद्यालयमा नियमित पठनपाठन सुरु गर्नुअघि विद्यार्थीको मनोसामाजिक अवस्था पहिचान गर्न सम्बन्धित स्थानीय तह र विद्यालयलाई निर्देशन दिएको छ ।
शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गत शिक्षा विभागको योजना तथा कार्यक्रम शाखाले जारी गरेको पत्रमार्फत बाढीबाट प्रभावित बालबालिकामा डर, तनाव, त्रास तथा अन्य मानसिक असर देखिन सक्ने भएकाले कक्षा सञ्चालनअघि उनीहरूको अवस्था बुझ्न आवश्यक रहेको जनाएको हो ।
विभागले विद्यालय र स्थानीय तहलाई स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीसँग समन्वय गरेर विद्यार्थीको मनोसामाजिक अवस्था मूल्यांकन गर्न आग्रह गरेको छ । कुनै विद्यार्थीलाई थप सहयोग वा परामर्श आवश्यक देखिएमा सोहीअनुसार सेवा उपलब्ध गराएर उनीहरूलाई विद्यालय फर्किन मानसिक रूपमा तयार बनाउनुपर्ने विभागको भनाइ छ ।
विद्यार्थीको अवस्था सामान्य र नियमित कक्षाका लागि अनुकूल रहेको सुनिश्चित भएपछि मात्रै पठनपाठन सञ्चालन गर्न विभागले आग्रह गरेको छ ।
बाढीका कारण विद्यार्थीको अध्ययनमा पर्न सक्ने नकारात्मक प्रभाव कम गर्न विद्यालयलाई सुरक्षित, सहज र बालमैत्री वातावरणमा सञ्चालन गर्न पनि विभागले सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
प्रभावित विद्यार्थीको शैक्षिक तथा मनोसामाजिक आवश्यकतालाई केन्द्रमा राख्दै विद्यालय, स्वास्थ्य संस्था र अन्य सरोकारवाला निकायबीच प्रभावकारी समन्वय गर्न विभागले जोड दिएको छ ।



















