भ्रामक समाचार प्रकाशित भएको भन्दै सांसद विश्वराज पोखरेलद्वारा प्रेस काउन्सिल नेपालमा उजुरी दर्ता

637
shares

काठमाडौं । भ्रामक, निराधार तथा कपोलकल्पित समाचार प्रकाशित गरी आफ्नो व्यक्तिगत प्रतिष्ठा, सामाजिक छवि एवं सार्वजनिक जीवनमा गम्भीर आघात पुर्‍याइएको भन्दै सांसद विश्वराज पोखरेलले प्रेस काउन्सिल नेपालमा निवेदन दर्ता गराएका छन्।

केही दिनअघि ‘दियो पोस्ट अनलाइन’बाट प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै पोखरेलले आवश्यक कानुनी कारबाहीको मागसहित प्रेस काउन्सिल नेपालमा निवेदन दिएका हुन्।

निवेदनमार्फत पोखरेलले आफू सत्य, तथ्य, विधिको शासन र जिम्मेवार पत्रकारिताप्रति दृढ विश्वास राख्ने व्यक्ति भएको उल्लेख गर्दै सञ्चारमाध्यमको स्वतन्त्रता, मर्यादा र सम्मानप्रति आफ्नो पूर्ण प्रतिबद्धता रहेको स्पष्ट पारेका छन्।
तर, प्रेस स्वतन्त्रताको नाममा भ्रामक, निराधार तथा तथ्यहीन आरोपका आधारमा कुनै पनि व्यक्तिको प्रतिष्ठा र सामाजिक छविमा आघात पुर्‍याउने कार्य स्वीकार्य हुन नसक्ने उनको भनाइ छ।

(निवेदन सहित)


उनले सम्बन्धित अनलाइन सञ्चारमाध्यमबाट प्रकाशित समाचारका कारण आफ्नो व्यक्तिगत प्रतिष्ठा तथा सार्वजनिक छविमा पुगेको क्षतिका सम्बन्धमा प्रचलित कानुनबमोजिम आवश्यक कानुनी उपचार खोज्ने बताएका छन्।
साथै, सम्बन्धित निकायबाट प्रकाशित समाचारको सत्यतथ्यबारे निष्पक्ष छानबिन, जिम्मेवार पक्षको जवाफदेहिता तथा न्यायोचित निरूपण हुने अपेक्षा व्यक्त गरेका छन्।

पोखरेलले प्रेस स्वतन्त्रताको सम्मान गर्दै पत्रकारितालाई सत्य, तथ्य, निष्पक्षता र व्यावसायिक मर्यादामा आधारित बनाउनुपर्नेमा जोड दिएका छन्।