इनाम सापकोटा प्रकरणमा सौरभ राज पन्तको टिप्पणी : ‘शक्तिका बिचौलियाहरू काठमाडौं मात्र होइन, वासिङ्टनसम्म छन् नियन्त्रणका लागि जरैदेखि हिर्काउने रणनीति चाहिन्छ, स्टन्टबाजी होइन’
वि.सं.२०८३ कात्तिक १६ सोमवार १६:३१
shares

काठमाडौं। ‘एआईको युगमा नेपाल’ अभियानका संयोजक सौरभ राज पन्तले नेपाली राजनीतिमा पछिल्लो समय चर्चामा रहेको इनाम सापकोटा प्रकरण एउटा प्रतिनिधि घटना मात्र भएको टिप्पणी गरेका छन्। उनका अनुसार यस प्रकरणलाई कुनै एक व्यक्तिको गतिविधिमा सीमित गरेर हेर्नुभन्दा यससँग जोडिएको शक्ति, पैसा र प्रभावको ठूलो सञ्जाललाई बुझ्न आवश्यक छ।
पन्तले भने, “इनाम सापकोटा प्रकरण एउटा प्रतिनिधि पात्र मात्र हो। सम्बन्धित व्यक्तिले त विगतको पुस्ताबाट प्राप्त विरासतलाई अगाडि बढाएको मात्र हुन सक्छ। यसको जालो निकै ठूलो छ। यसलाई काट्न खोज्ने व्यक्ति आफैँ फस्नुपर्ने अवस्था पनि आउन सक्छ। त्यसैले यस्ता विषयमा हतार नगरी निकै सुझबुझका साथ अगाडि बढ्नुपर्छ।”
उनले शक्तिका बिचौलियाहरू काठमाडौंमा मात्र नभई वासिङ्टनसम्म फैलिएको हुन सक्ने उल्लेख गर्दै यस्ता सञ्जालको नियन्त्रणका लागि सतही प्रचार र स्टन्टबाजीभन्दा जरैदेखि प्रहार गर्ने रणनीति आवश्यक रहेको बताए।
“स्टार होटलका लबीदेखि सरकारी कार्यालयसम्म शक्ति, पैसा र कामुकताको चलखेल हुने गरेको छ। यस्ता गतिविधिको वास्तविक स्वरूप र सञ्जाल पहिचान नगरी समस्या समाधान हुँदैन। यसका लागि व्यापक बहस र संस्थागत सुधार आवश्यक छ,” पन्तले भने।
उनका अनुसार भ्रष्टाचारलाई केवल रकमका आधारमा मात्र मूल्याङ्कन गर्नु पर्याप्त हुँदैन। “कार्यालय सहयोगीले एक हजार रुपैयाँ घुस लिनु र शक्तिको आडमा बिचौलियाले करोडौँ रुपैयाँको चलखेल गर्नु एउटै प्रकृतिको भ्रष्टाचार होइन। दुवै भ्रष्टाचार हुन्, तर तिनको प्रकृति, प्रभाव, सञ्जाल र राष्ट्रिय क्षतिलाई एउटै तराजुमा राखेर हेर्न मिल्दैन,” उनले टिप्पणी गरे।
पन्तले ‘एआईको युगमा नेपाल’ अभियानको सान्दर्भिकता प्रस्तुत गर्दै यस्ता जटिल समस्याको समाधानका लागि खुला राष्ट्रिय बहस आवश्यक रहेको बताए। अभियान कुनै एक राजनीतिक दल, व्यक्ति वा समूहविरुद्ध लक्षित नभई नेपालको शासन प्रणाली, संस्थागत जवाफदेहिता, राष्ट्रिय हित र दीर्घकालीन सुधारका विषयमा सबै पक्षलाई एउटै संवादमा ल्याउने उद्देश्यले अघि बढाइएको उनको भनाइ छ।
उनले थपे, “समस्याको सतहमा देखिएका पात्रलाई मात्र कारबाही गरेर पुग्दैन। त्यसको जरो, संरक्षण गर्ने शक्ति र त्यसबाट लाभ लिने संरचनासम्म पुग्नुपर्छ। त्यसैले हामीलाई स्टन्टबाजी होइन, तथ्यमा आधारित अनुसन्धान, संस्थागत सुधार र व्यापक राष्ट्रिय बहस चाहिएको छ।”

















