ओलीले एकलौटी राजनीतिक नियुक्ति गरेपछि नेकपामा फेरि किचलो

10.53K
shares

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र फेरी किचलो सुरु भएको छ । पार्टी निर्णय तथा सहमतिविपरित प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक नियुक्ति गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहालसहितका नेता असन्तुष्ट भएका छन् ।अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाललगायत असन्तुष्ट नेता सचिवालय बैठक बस्नुपर्ने निष्कर्षमा पुगेका छन् । स्रोतका अनुसार अध्यक्ष दाहालले वरिष्ठ नेताद्वय खनाल र नेपालसहितका नेतासँग हिजो बिहीबार टेलिफोन संवाद गरेका छन् । प्रधानमन्त्री ओली फेरि पुरानै ठाउँमा पुगेको निष्कर्षसहित उनीहरूले अध्यक्ष दाहाललाई सचिवालय बैठकका लागि दबाब दिएका छन् ।

केही दिनअघिमात्रै साम्य भएको नेकपाभित्रको विवाद राजनीतिक नियुक्तिसँगै पुनः सुरु हुने देखिन्छ । मन्त्रिपरिषद् पुनर्गठनको ‘मोडालिटी’मा सहमति जुटाउन अध्यक्षद्वय ओली र दाहालबीच संवाद जारी थियो । सरकारले बिहीबारमात्रै दुई राजदूत नियुक्त गर्ने निर्णय गरेको छ । अमेरिकाका लागि निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा र बेलायतका लागि निवर्तमान मुख्यसचिव लोकदर्शन रेग्मीलाई राजदुत नियुक्त गर्ने निर्णय सरकारले गरेको हो ।

त्यस्तै, बैठकले मुख्यसचिवमा शंकरदास वैरागीलाई नियुक्त गरेको छ । खतिवडा मन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री ओलीले आर्थिक सल्लाहकारमा नियुक्ति गरेका थिए । अध्यक्ष दाहालनिकट एक नेताका अनुसार प्रधानमन्त्री ओलीले नियुक्ति विषयमा छलफल नै नगरी एकलौटी गरेका हुन् । हालैको सचिवालय र स्थायी कमिटी बैठकका निर्णय एवं निष्कर्षविपरित प्रधानमन्त्री ओलीले नियुक्ति गरेको दाहाल समूहको आरोप रहेको छ । यो समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन् ।