सकियो नेकपा बैठक : २० गतेसम्म स्थगित
वि.सं.२०७७ मंसिर १७ बुधवार १५:४५
shares

फाइल तस्वीर
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक केहीबेरमात्रै बसेर स्थगित भएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको प्रस्तावका सन्दर्भमा छलफलका लागि बोलाइएको सचिवालय बैठक केहीबेरमात्रै बसेर मंसिर २० गतेसम्मका लागि स्थगित गरिएको हो ।
आजको बैठक औपचारिकतामै सीमित भइ मंसिर २० गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली सहभागी नभएपछि सत्तारुढ दल नेकपा सचिवालय बैठक २० गते बस्ने गरी स्थगित भएको छ।
बैठकमा प्रधानमन्त्री सहभागी नभएपछि अध्यक्ष प्रचण्डले शनिबार दिउँसो एक बजे बैठक बस्ने गरी स्थगित भएको सचिवालय सदस्यहरुलाई जानकारी गराएका थिए।
मंगलबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले प्रचण्डले कात्तिक २८ गते सचिवालयमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन फिर्ता लिएर माफी नमागेसम्म आफू बैठकमा सहभागी नहुने चेतावनी दिएका थिए।
तर बुधबार विहान प्रधानमन्त्री ओली निकटका नेताहरुले ओलीलाई बैठकमा सहाभागी हुन सुझाव दिएपछि उनी बुधबार बस्ने बैठकमा सहभागी हुन सहमत भएका थिए।
ओली पनि बैठकमा सहभागी हुने भएपछि निर्धारित समय भन्दा एक घण्टा ढिला गरी बैठक बोलाइएको थियो। तर दुई बजे बसेको बैठकमा पनि प्रधानमन्त्री ओली सहभागी नभएपछि बैठक २० गते शनिबार बस्ने गरी स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
















