काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक अखबारहरूको प्राथमिकतामा विविध विषय परेका छन् । नागरिकले बालुवाटारस्थित ललितानिवास जग्गा हिनामिना प्रकरणबारे भइरहेको छानबिनमा मन्त्रालयले नै असहयोग गरेको लेखेको छ । यसबारे अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले प्रधानमन्त्री निवास विस्तार गर्ने निर्णयको फाइल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग मागेको थियो । तर, यो फाइल नदिएर मन्त्रालयका उच्च अधिकारीले असहयोग गरेको नागरिकले लेखेको छ ।
नागरिक लेख्छ– सीआईबीले सो निर्णयको प्रतिलिपि र उक्त कार्यमा संलग्न कर्मचारीको विवरणसहितको फाइल उपलब्ध गराउन पटकपटक भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ताकेता गरेको छ । तर मन्त्राललयका उच्च पदाधिकारीले अटेर गर्दै आएका छन् ।’भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका जिम्मेवार अधिकारीहरू फाइल आफूहरूसँग नभएको भन्दै पन्छिने गरेको समाचारमा उल्लेख छ । नागरिकका अनुसार, यही कारण सीआईबीले अनुसन्धानको अन्तिम प्रतिवेदन तयार गर्न सकेको छैन ।

































