आजको पत्रपत्रिका : व्यवसाय गर्नका लागि निर्धारित समय पालना गर्न आदेश

5.49K
shares

व्यवसाय गर्नका लागि निर्धारित समय पालना गर्न आदेश

काठमाडौँ । उच्च अदालत पाटनले टिपर व्यवसायीलाई पेशा व्यवसाय गर्नका लागि सरकारले निर्धारण गरेको समय पालना गर्न आदेश जारी गरेको छ । न्यायाधीश टेकनारायण कुँवरको एकल इजलासले आज टिपर व्यवसायीले पेशा व्यवसाय गर्दा निश्चित मापदण्डको पालना गर्नुपर्ने हुँदा सरकारले निर्धारण गरेको समयको पालना गर्नुपर्ने आदेश जारी गरेको हो।

आदेशमा व्यवसायीलाई सम्पत्ति कमाउने संवैधानिक हकको पनि संरक्षण हुने र नागरिकको पनि जीउधनको सुरक्षा हुने हुनाले तोकेको समय बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म टिपर नचलाउने भनिएको छ। जुनसुकै समयमा पनि टिपर चलाउन पाउनुपर्ने माग गर्दै टिपर व्यवसायी सङ्घ दोलखाले उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेको थियो ।

प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान

काठमाडौँ । संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित चार राजदूतविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पत्रअनुसार समितिले सुनुवाइ प्रक्रिया प्रारम्भ गर्दै शुक्रबारदेखि उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।

प्रस्तावित राजदूतविरुद्ध कुनै उजुरी भएमा सरोकारवालाहरुले मङ्सिर १७ गतेसम्म समितिमा दिन सक्नेछन् । सुनुवाइ समिति सदस्य योगेश भट्टराईले चारै जना राजदूतको सुनुवाइ प्रक्रिया सुरु भएको बताए ।

सडक दुर्घटना सूचना व्यवस्थापन प्रणालीको परीक्षण शुरु

काठमाडौँ । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले ‘सडक दुर्घटना सूचना व्यवस्थापन प्रणाली’को आजदेखि परीक्षण शुरु गरेको छ । प्रहरी प्रधान कार्यालय र ट्राफिक निर्देशनालयले यातायात व्यवस्था विभागसँगको सहकार्यमा उक्त प्रणालीको परीक्षण थालेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए ।

अहिलेसम्म ट्राफिक प्रहरीले हातैले लेखेर दुर्घटनाको सूचना सङ्कलन गर्ने र कम्युटरमा तथ्याङ्क राख्ने गरेकामा यो प्रणाली सफल भए घटनास्थलबाटै प्रविधिको प्रयोग गरी वास्तविक अभिलेख एकैचोटी प्रहरीमा आइपुग्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले जानकारी दिए।

उहाँका अनुसार दुर्घटनाको वास्तविक र पूर्ण सूचना अभिलेख गर्नका लागि नयाँ प्रणालीको शुरुआत गरिएको हो । उक्त प्रणालीले दुर्घटनाको वास्तविक कारण पत्ता लगाउनसमेत सहयोग पुग्ने आशा प्रहरीको छ। उक्त प्रणाली प्रयोगका लागि एक वर्षअघि नै यातायात व्यवस्था विभागसँग सम्झौता गरिएको थियो । एक प्रकारको सफ्टवेर निर्माण गरेर ट्याबलेटमार्फत दुर्घटनाका सूचना तत्कालै प्रहरी कार्यालयमा पठाइनेछ।


unigloble collage
baneshwor multiple campus ad -2083