सुदूरपश्चिममा कोरोनाबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ९ पुग्यो
वि.सं.२०७७ साउन १३ मंगलवार १६:०३
shares

File photo
सुदूरपश्चिममा कोरोना भाइरसको संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बझाङको बुङ्गल नगरपालिका-३ का ६५ वर्षका एक वृद्ध रहेका छन्।
मृतकलाई १४ दिन क्वारेन्टाइन राखेर कोरोनाको कुनै लक्षण नदेखिएको भन्दै ६ साउनमा घर पठाइएको थियो।
घरमा बसिरहेको समयमा उनमा ९ साउनमा अकस्मात् स्वास्थ्य समस्या आउँदा मृत्यु भएको र सोमबार आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बझाङका कोभिड–१९ सम्पर्क व्यक्ति नारायण जोशीले जानकारी दिए।
डडेल्धुरा अस्पतालको प्रयोगशालामा पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको जोशीले बताए। उहाँलाई मृत्युपश्चात कोरोना पुष्टि भएको हो ।
मृतक असार २४ गते भारतबाट फर्किएका थिए।
उनको ९ साउनमै परम्परागत रूपमा दहासंस्कार गरिएको थियो। योेसँगै सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ।































