राष्ट्रपति बोल्दाबोल्दै संसद् छाडेकोमा प्रधानमन्त्रीसँग कांग्रेसद्वारा जवाफ माग
वि.सं.२०८३ वैशाख २९ मंगलवार १४:३०
shares

२९ वैशाख, काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री बालेन शाह संसद् बैठकबाट बाहिरिएको घटनामा गम्भीर आपत्ति जनाउँदै स्पष्ट जवाफ माग गरेको छ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा कांग्रेसका तर्फबाट बोल्दै सांसद वासना थापाले उक्त घटनालाई लोकतान्त्रिक संसदीय अभ्यासमा विरलै देखिने दृश्य भएको टिप्पणी गरिन्।
उनले भनिन्, “राष्ट्रपतिज्यूबाट सरकारकै नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्रीज्यू संसद्बाट बाहिरिनु सामान्य कुरा होइन, यसले संसदीय मर्यादा र संवैधानिक संस्कारमाथि प्रश्न उठाउँछ।”
कांग्रेसले यस घटनालाई केवल व्यक्तिगत व्यवहार नभई राज्यको उत्तरदायित्व र सरकारको गम्भीरतासँग जोडिएको विषयका रूपमा उठाएको छ।
सांसद थापाले संसद्मा प्रधानमन्त्रीबाट औपचारिक स्पष्टीकरण माग गर्दै यस्ता गतिविधि दोहोरिन नदिन सचेत गराइन्।
“लोकतन्त्रमा पदभन्दा ठूलो मर्यादा र मर्यादाभन्दा ठूलो जनविश्वास हो, यसतर्फ सरकारको ध्यान जान आवश्यक छ,” उनले भनिन्।
सोमबार राष्ट्रपति पौडेलले संघीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका थिए। सोही क्रममा प्रधानमन्त्री बैठकबाट बाहिरिएको दृश्य सार्वजनिक भएपछि राजनीतिक वृत्तमा यसको व्यापक चर्चा भइरहेको छ।















