एसईई नतिजा : ४८ हजारभन्दा बढीले ल्याए ३.६० माथि जीपीए, समग्र नतिजा सुधार

533
shares

२८ वैशाख, भक्तपुर। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको यस वर्षको एसईई नतिजामा उच्च जीपीए ल्याउने विद्यार्थीको संख्या उल्लेख्य देखिएको छ।

नतिजाअनुसार कुल ४ लाख ३० हजार ६६७ विद्यार्थीमध्ये ४८ हजार ३ सय ९२ जनाले ३.६० देखि ४.०० जीपीए प्राप्त गरेका छन्।

त्यस्तै, ३.२० देखि ३.६० जीपीए ल्याउने ८० हजार ३७२, २.८० देखि ३.२० ल्याउने ९४ हजार २२२ र २.४० देखि २.८० ल्याउने ५५ हजार ९७७ विद्यार्थी रहेका छन्।

२.०० देखि २.४० जीपीए ल्याउने ५ हजार १९० र १.६० देखि २.०० ल्याउने मात्र ७ जना विद्यार्थी रहेको बोर्डले जनाएको छ।

यस वर्ष समग्रमा ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्, जुन गत वर्षको ६१.८१ प्रतिशतभन्दा सुधार हो।

शिक्षा सचिव चुडामणि पौडेलका अनुसार यसपटक नतिजा अघिल्लो वर्षभन्दा करिब ५ प्रतिशतले सुधार भएको छ।

यस वर्ष २ लाख ८४ हजार १६० विद्यार्थी उत्तीर्ण भएका छन् भने १ लाख ४६ हजार ५०७ विद्यार्थी नन–ग्रेडेड भएका छन्।

बोर्डका अनुसार सबैभन्दा बढी विद्यार्थी २.८० देखि ३.६० जीपीए समूहमा रहेका छन्, जसले मध्यम स्तरको प्रदर्शन उच्च रहेको संकेत गर्दछ।