सरकारको बजेटले अर्थतन्त्र चलायमान बनाउने निजी क्षेत्रको विश्वास
वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:४३
shares

काठमाडौं । निजी क्षेत्रले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटप्रति सकारात्मक प्रतिक्रिया जनाएको छ । उद्योगी व्यवसायीहरूले बजेटमा आफूहरूले लामो समयदेखि उठाउँदै आएका धेरै विषय समेटिएको भन्दै अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
शुक्रबार संघीय संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत भएपछि संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै निजी क्षेत्रका प्रतिनिधिहरूले बजेटलाई उत्साहजनक भएको बताएका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रले निरन्तर उठाउँदै आएका धेरै विषय बजेटमार्फत सम्बोधन भएको बताए । उनले रोजगारी सिर्जना, उत्पादन वृद्धि तथा निजी क्षेत्रको मनोबल बढाउने कार्यक्रम सकारात्मक रहेको उल्लेख गरे ।
उनले सरकारले अब बजेट कार्यान्वयनमा प्रभावकारी रूपमा अघि बढ्नुपर्नेमा जोड दिए ।
यस्तै, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले बजेट निजी क्षेत्रलाई उत्साहित बनाउने खालको रहेको प्रतिक्रिया दिए । उनले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति तथा कार्यक्रम समेटिएको भन्दै यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए ।
त्यसैगरी, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले सरकारले कर तथा लगानीसम्बन्धी विषयमा सकारात्मक सन्देश दिएको बताए । उनले लगानीमैत्री वातावरण निर्माण गर्न बजेटले सहयोग गर्ने विश्वास व्यक्त गरे ।
निजी क्षेत्रका प्रतिनिधिहरूले समग्रमा बजेटले उद्योग, व्यापार तथा लगानी क्षेत्रलाई चलायमान बनाउने अपेक्षा गरेका छन् ।




























