लागूऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले चलायो गोली : ३० हजार क्याप्सुल ट्रामाडोल बरामत
वि.सं.२०८३ जेठ ३१ आइतवार १७:००
shares

काठमाडौ । प्रहरीका अनुसार लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन खोज्दा उनीहरू गाडीमा भाग्न खोजेपछि गोली चलाइएको हो ।
केही दिनअघि मात्र लागूऔषध नियन्त्रण ब्युरोको जिम्मेवारी सम्हालेका एसएसपी सुवास बोहरा लागू औषध नियन्त्रण विरुद्ध कडा रूपमा उत्रिएका छन्।
शुक्रबार बाराको सिम्रौनगढबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०३० च ९२०१ नम्बरको रातो रंगको सुजुकी कारमा ठूलो परिमाणमा ट्रामाडोल ल्याइँदै गरेको विशेष सूचनाका आधारमा प्रहरीले खोजतलास गरेको थियो ।
ललितपुर महानगरपालिका–२३ गैरीगाउँबाट नख्खुतर्फ आउँदै गरेको उक्त कार र बा ५२ प ४५६७ नम्बरको मोटरसाइकललाई रोक्न खोज्दा चालक तथा सवार व्यक्तिहरूले अटेर गरी भाग्न खोजेको बोहराको दाबी छ ।
प्रहरीले कार र मोटरसाइकल नियन्त्रणमा लिएर खानतलासी गर्दा कारको पछाडिको डिक्कीमा लुकाएर राखिएको अवस्थामा ३० हजार क्याप्सुल ट्रामाडोल बरामद गरेको जनाएको छ । साथै घटनास्थलबाट तीन जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका–३ का ३५ वर्षीय जितेन्द्र पासवान तथा भारतको बिहार राज्य, सीतामढी जिल्लाका ३२ वर्षीय अहमद लड्न र ३३ वर्षीय मोहम्मद सद्दाम रहेका छन् ।
घटनास्थलबाट ३० हजार क्याप्सुल ट्रामाडोलसहित कार, मोटरसाइकल र पाँच थान मोबाइल बरामद गरिएको छ ।
































