सुदूरपश्चिम प्रदेशमा ७१औँ प्रहरी दिवस–२०८३ समारोह सम्पन्न

390
shares

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी, कैलालीको आयोजनामा ७१औँ प्रहरी दिवस–२०८३ विविध कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न भएको छ। सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री खगराज भट्टको प्रमुख आतिथ्यतामा शुक्रबार समारोह सम्पन्न भएको हो।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री खुशीराम डगौरा थारू विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। समारोहमा धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल, प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता निरञ्जन विष्ट, सुदूरपश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी पवन खत्री, कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलगायत विभिन्न सरकारी निकायका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका अधिकारी, जनप्रतिनिधि, पूर्वप्रहरी, सञ्चारकर्मी, समाजसेवी तथा प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।

समारोहको प्रारम्भमा प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अन्य आमन्त्रित अतिथिहरूले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गरी कर्तव्यपालनका क्रममा वीरगति प्राप्त गर्ने अमर प्रहरीहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो। सो अवसरमा शोक सलामी अर्पण गर्नुका साथै प्रहरी अधिकृत तथा कर्मचारी, अमर प्रहरीका आश्रित परिवारजन र पूर्वप्रहरीहरूले पुष्पगुच्छा अर्पण गरी अमर प्रहरीहरूको योगदानको स्मरण गरेका थिए।

कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय, महेन्द्रनगर, कञ्चनपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र शाहीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। साथै, उहाँले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको शुभकामना सन्देश वाचन गर्नुभएको थियो।

बाजुराका प्रहरी प्रमुख बोहरालाई नगद पुरस्कार
७१औँ प्रहरी दिवसका अवसरमा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्यसम्पादन सम्झौताअनुसार सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामध्ये उच्चतम अङ्क प्राप्त गरी निर्धारित लक्ष्य हासिल गर्न सफल जिल्ला प्रहरी कार्यालय, बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक शैलेश्वरी बोहरालाई मुख्यमन्त्री खगराज भट्टले नगद पुरस्कार प्रदान गर्नुभएको थियो।

यसैगरी, समाजमा शान्ति सुरक्षा कायम गर्न तथा सामाजिक सेवाका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने संघसंस्था र व्यक्तित्वहरूलाई कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो।

सम्मानित हुनेहरूमा दृष्टि फाउन्डेसन नेपालका प्रमुख कल्पना भट्ट, मानवसेवा आश्रम धनगढी शाखाका सञ्चालक लोकेन्द्र शाह, निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.का अध्यक्ष तीर्थराज पन्त, माया मेट्रो हस्पिटलका अध्यक्ष धिरेन्द्रबहादुर साउँद, एसटीएस इन्टरटेनमेन्ट प्रा.लि.का सञ्चालक राजकुमार श्रेष्ठ तथा असहाय सहयोगी हातहरू नेपालअन्तर्गत सहारा घर, बर्दगोरिया गाउँपालिका–२, बौनियाँ, कैलालीका सञ्चालक बलबहादुर विष्ट रहनुभएको थियो।
समारोहमा प्रमुख अतिथि मुख्यमन्त्री खगराज भट्ट, विशिष्ट अतिथि आन्तरिक मामिला तथा कानुनमन्त्री खुशीराम डगौरा थारूलगायत अतिथिहरूले ७१औँ प्रहरी दिवसको अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै शान्ति सुरक्षा, अपराध नियन्त्रण, नागरिकको जीउधनको संरक्षण तथा समाजमा अमनचयन कायम गर्न नेपाल प्रहरीले निर्वाह गर्दै आएको भूमिकाको महत्त्व उजागर गर्नुभएको थियो।
कार्यक्रमको समापनमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सानुराम भट्टराईले प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूलाई मायाको चिनो प्रदान गर्नुभएको थियो। उहाँले समारोहमा उपस्थित सम्पूर्ण अतिथि, सुरक्षाकर्मी, पूर्वप्रहरी, सञ्चारकर्मी तथा सहयोगीहरूप्रति धन्यवाद ज्ञापन गर्नुभएसँगै कार्यक्रम सम्पन्न भएको थियो।
७१औँ प्रहरी दिवसले कर्तव्यनिष्ठा, व्यावसायिकता, नागरिकमैत्री सेवा र जनविश्वासलाई अझ सुदृढ बनाउँदै शान्त, सुरक्षित र समुन्नत समाज निर्माणमा नेपाल प्रहरीको प्रतिबद्धतालाई पुनः स्मरण गराएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083