एमबाप्पेले पाचुका विरुद्धको खेल गुमाउने

1.56K
shares

काठमाडौं रियल म्याड्रिडका स्ट्राइकर किलियन एमबाप्पे फिफा क्लब विश्वकप अन्तर्गत पाचुकाविरुद्धको खेल गुमाउने भएका छन्।

रियल म्याड्रिडका प्रशिक्षक चाबी आलोन्सोले एमबाप्पेको स्वास्थ्य अवस्थामा सुधार आएपनि आइतबार हुने फिफा क्लब विश्वकप अन्तर्गतको पाचुकाविरुद्धको खेल गुमाउने जानकारी दिएका हुन्। तर उनी अन्तिम समूह चरणको खेलमा भने फर्किने सम्भावना रहेको प्रशिक्षक आलोन्सोले बताए।

एमबाप्पेले मंगलबारको प्रशिक्षण सत्रमा ज्वरोका कारण भाग लिन सकेका थिएनन्। उनले बुधबार मियामीमा साउदी अरेबियाको अल–हिलालसँग १–१ को बराबरी खेलेको खेल समेत गुमाए।

२६ वर्षीय एमबाप्पे ‘ग्यास्ट्रोएन्टेराइटिसको गम्भीर संक्रमण’का कारण अस्पताल भर्ना भएका थिए। बिहीबार अस्पतालबाट डिस्चार्ज गरिएपछि उनी पाम बिचस्थित रियल म्याड्रिडको प्रशिक्षण केन्द्र फर्किएका छन्।

आइतबार बेलुकी ८ बजे मेक्सिकन टोली पाचुकासँग हुने खेलमा नहुने उनी शुक्रबार रेड बुल साल्जबर्गसँग हुने खेलमा भने सहभागी हुने सम्भावना रहेको छ।

पेरिस सेन्ट–जर्मेनबाट रियल म्याड्रिड आएका एमबाप्पेले पहिलो सिजनमै क्लबका लागि ५६ खेलमा ४३ गोल गरेका थिए। उनले युरोपियन गोल्डेन शु जित्न सफल भएपनि रियलले ला लिगा, च्याम्पियन्स लिग र कोपा डेल रे उपाधि भने जित्न सकेन।


Mitsubishi Long Ad