राजदूत नियुक्तिका लागि पहिलो पटक खुला दरखास्त आह्वान
वि.सं.२०८३ जेठ १४ बिहीवार २०:३६
shares

काठमाडौं । सरकारले पहिलो पटक खुला प्रतिस्पर्धामार्फत राजदूत नियुक्तिको प्रक्रिया अघि बढाएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार सूचना जारी गर्दै इच्छुक नेपाली नागरिकबाट राजदूत नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो ।
मन्त्रालयले मन्त्रिपरिषद् बाट स्वीकृत ‘राजदूत नियुक्ति सम्बन्धी निर्देशिका, २०७५’ (संशोधन २०७८ र २०७९) अनुसार आवेदन मागिएको जनाएको छ । इच्छुक उम्मेदवारले आगामी जुन ५ भित्र आवेदन दिनुपर्नेछ ।
निर्देशिकाअनुसार राजदूत बन्नका लागि कम्तीमा ३५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्नेछ । उम्मेदवारले मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने अंग्रेजी भाषामा राम्रो ज्ञान र परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध वा कूटनीतिक क्षेत्रमा अनुभव भएको हुनुपर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै, भ्रष्टाचार वा नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय नपाएको, सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी बर्खास्त नभएको तथा कुनै विदेशी राष्ट्रको पीआर वा ग्रीनकार्ड नलिएको हुनुपर्ने सर्त पनि राखिएको छ ।
मन्त्रालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध, राजनीति शास्त्र, कानुन, अर्थशास्त्र वा जनप्रशासनमा स्नातकोत्तर गरेका, कूटनीतिक वा उच्च सरकारी तथा कर्पोरेट तहमा नेतृत्वदायी भूमिका निर्वाह गरेका र प्रस्तावित देशको भाषा जान्ने उम्मेदवारलाई प्राथमिकता दिइनेछ ।
आवेदन परराष्ट्र मन्त्रालयको वेबसाइट वा मन्त्रालयबाट प्राप्त फारममार्फत दिन सकिनेछ । प्राप्त आवेदनलाई मन्त्रालयले प्रारम्भिक छनोट गरी मन्त्रिपरिषद्मा पठाउनेछ । मन्त्रिपरिषद्ले योग्यताका आधारमा नाम सिफारिस गरेपछि संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएर सम्बन्धित देशको सहमति प्राप्त भएपछि राष्ट्रपतिबाट औपचारिक नियुक्ति हुने व्यवस्था छ ।
नियुक्त भएका राजदूतहरूले कार्यभार सम्हाल्नुअघि परराष्ट्र मन्त्रालयसँग कार्यसम्पादन सम्झौता गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।





























