एक हजार रुपैयाँकै लागि युवकको अपहरणपछि हत्या
वि.सं.२०७७ साउन ५ सोमवार ०८:०५
shares

File Photo
जेलमा सापटी लिएको हजार रुपैयाँ तिर्न नसक्दा सिराहाको लहान नगरपालिका–१ मर्टियर्वाका १९ वर्षीय रोशनकुमार रामको हत्या गरिएको छ । हत्या भएको एक सातापछि उनका बुबा सिफैत रामले प्रहरीमा उजुरी दिएका छन् ।
लकडाउनको समयमा साथीभाइसँगै सीमावर्ती गाउँ गएका उनी लागुपदार्थसहित पक्राउ परेका थिए । लागुपदार्थसम्बन्धी मुद्दामा २५ जेठमा जिल्ला अदालत सिराहाले मागेको १० हजार रुपैयाँ धरौटी राख्न नसकेपछि पुर्पक्षका लागि जेल चलान भएका थिए । जेलमा उनले स्थानीय २५ वर्षीय जयकुमार यादवलाई भेटेका थिए । जयसँग रोशनले जेलमै हजार रुपैयाँ सापटी लिएका थिए ।
मिर्चैया इलाका प्रहरी कार्यालयका डिएसपी सन्तुलाल जैसवालका अनुसार १० असारमा धरौटी बुझाएपछि उनी छुटेका थिए । ऋणदान गरेर १० हजार धरौटी बुझाएको उनका बुबा सिफैतले बताए । ‘जेलमा आएको पाँच सय रुपैयाँ पनि तिरेको थिएँ,’ उनका बुबा सिफैतले भने, ‘जयको हजार रुपैयाँ तिर्नु छ भनेर बताएको थिएन । बताएको भए ऋणदान गरेर भए पनि तिरिदिन्थे ।’
जय पनि जेलबाट छुटेपछि २६ असारमा सापटी फिर्ता लिन स्थानीय २२ वर्षीय मुकुन्दकुमार कटुवाललाई लिएर रोशनको घरमा आएका थिए । पैसा माग्न आएका जयकुमारले जे पनि गर्ने भन्दै धम्क्याएको रोशनकी आमा सुनैरदेवीले बताइन् ।
रोशनसँग हजार रुपैयाँ दिएन । उनले हँसिमजाक गर्दै केही दिनमा तिरौँला भन्दै उनीहरूलाई पठाएका थिए । ‘त्यही राति छोरालाई फोनबाट पनि धम्क्याएको रहेछ,’ सुनैरदेवीले भनिन्, ‘त्यतिवेला साथीहरू जिस्किएका होलान् भन्ने लाग्यो । पछि फकाएर मिर्चैया पु(याई हत्या नै गरेछ ।’ नयाँ पत्रिका दैनिकबाट !































