एक महिनामा झण्डै पाँच हजारले लिए श्रम स्वीकृति

8.67K
shares

काठमाडौँ : वैदेशिक रोजगारीबाट बिदामा आएर जान नपाएका पछिल्लो एक महिनाको अवधिमा झन्डै पाँच हजारले पुनः श्रम स्वीकृति लिएका छन् । गत फागुन ३० गतेदेखि बन्द रहेको वैदेशिक रोजगारीका लागि गएको असार १८ गतेदेखि पुनः श्रम स्वीकृति दिने प्रक्रिया सुरु भएयता चार हजार ८५० जनाले पुनः श्रम स्वीकृति दिएका हुन् ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि श्रम स्वीकृति दिन सक्ने अख्तियारी प्रदान गरेको थियो । सीसीएमसीले परिस्थिति हेरेर श्रम मन्त्रालयलाई बिदामा नेपाल आएकासहित नयाँ रोजगारीमा जाने श्रमिकलाई श्रम स्वीकृति दिने निर्णय गर्न सक्ने अधिकार दिएको थियो । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)को विषयमा छलफल गर्न असार १५ गते बसेको मन्त्रिपरिषद्को बैठकले बिदामा नेपाल आएका वा करार अवधि बाँकी रहेकाको हकमा कोभिड–१९ परीक्षण र स्वास्थ्यसम्बन्धी प्रोटोकलको पालना गर्ने गरी वैदेशिक रोजगारीमा जान दिने निर्णय गरेको छ ।

बैठकले यस पूर्वका करार अवधि समाप्त भई पुनः करार नवीकरण गरेका वा भिसाको समेत म्याद थप भएका व्यक्ति आवश्यक कागजातसहित निवेदन दिएमा कोभिड–१९ परीक्षण र स्वास्थ्यसम्बन्धी प्रोटोकलको आधारमा पुनः श्रम स्वीकृति प्रदान गर्ने निर्णय छ । वैदेशिक रोजगार विभागअन्तर्गतको वैदेशिक रोजगार कार्यालयका अनुसार असार महिनाको १३ दिनमा २५१ महिलासहित दुई हजार ६६७ जना श्रमिकले पुनः श्रम स्वीकृति लिए भने साउन महिनाको १५ दिनमा ९२ महिलासहित दुई हजार ७१ जना श्रमिकले श्रम स्वीकृति लिएका छन् ।

पुनः श्रम स्वीकृति खुला गरिए पनि नयाँ श्रम स्वीकृति खुला गरिएको छैन । पुनः श्रम स्वीकृति लिएर जाने मुलुकमा यसअघि संस्थागत श्रम स्वीकृति लिएर जाने मुलुकमध्ये संयुक्त अरब इमिरेट्स (यूएई), कतार, मलेसिया, कुवेत, साउदी अरेबिया, बहराइन, जापान, माल्टा लगायतका देश छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083