निर्माण व्यवसायीका समस्या समाधान गर्न सरकारसँग निजी क्षेत्रको माग

884
shares

काठमाडौं । निजी क्षेत्रका प्रमुख छाता संगठनहरूले निर्माण व्यवसायीहरूले भोगिरहेका समस्या तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेका छन् । नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले छुट्टाछुट्टै धारणा सार्वजनिक गर्दै निर्माण क्षेत्र गम्भीर दबाबमा परेको बताएका हुन् ।

उनीहरूले मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य महँगिएको र त्यसको प्रत्यक्ष असर नेपाली निर्माण क्षेत्रमा परेको उल्लेख गरेका छन् । इन्धनको मूल्यवृद्धिसँगै ढुवानी खर्च र निर्माण सामग्रीको लागत बढ्दा धेरै आयोजना प्रभावित बनेको उनीहरूको भनाइ छ ।

निर्माण व्यवसायीहरूले डिजेल, बिटुमिन तथा अन्य आवश्यक सामग्रीको मूल्य अस्वाभाविक रूपमा बढेकाले काम सञ्चालन गर्न कठिन भएको बताएका छन् । लागत अत्यधिक बढेपछि निर्माण उद्योग नै संकटतर्फ धकेलिएको उनीहरूको दाबी छ । नेपाल निर्माण व्यवसायी महासंघका अनुसार मूल्यवृद्धिका कारण व्यवसायीहरूले अर्बौं रुपैयाँ बराबरको क्षति व्यहोर्नुपरेको छ ।

नेपाल उद्योग परिसंघले निर्माण क्षेत्र सुस्त हुँदा त्यससँग सम्बन्धित अन्य उद्योग तथा व्यवसायमा समेत असर पर्ने भन्दै सरकारलाई समयमै हस्तक्षेप गर्न आग्रह गरेको छ । त्यस्तै, नेपाल चेम्बर अफ कमर्शले निर्माण क्षेत्रमा देखिएको लागत वृद्धि, भुक्तानीमा ढिलाइ र प्रशासनिक जटिलताले व्यवसायी थप समस्यामा परेको जनाएको छ ।

निजी क्षेत्रका संस्थाहरूले निर्माण क्षेत्रलाई थप संकटमा जान नदिन राहत, सहजीकरण र आवश्यक नीतिगत निर्णय तत्काल लागू गर्न सरकारसँग माग गरेका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083