कक्षा १२ को परीक्षा सुरु, ४ लाख २८ हजार ५२ विद्यार्थी सहभागी

14.31K
shares

काठमाडौं। कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको छ। साधारण तथा प्राविधिक विषय समूहतर्फको परीक्षा आइतबार बिहान ७ बजेबाट देशभर सुरु भएको हो ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ४ लाख २८ हजार ५२ विद्यार्थी सहभागी भइरहेका छन्। यो साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीको कूल संख्या हो।

वैशाख २६ गतेसम्म चल्ने परीक्षाका लागि देशभर १ हजार १०७ परीक्षा केन्द्र निर्धारण गरिएको छ।

परीक्षामा काठमाडौंबाट सबैभन्दा धेरै र मनाङबाट सबैभन्दा कम विद्यार्थी सहभागी छन्। बोर्डका अनुसार काठमाडौंबाट ६२ हजार ५८८ परीक्षार्थी सहभागी भइरहेका छन् भने मनाङमा मात्रै ५९ विद्यार्थीले परीक्षा फर्म भरेका छन्।

परीक्षा केन्द्रमा सिसी क्यामरा
गत चैतमा सम्पन्न एसइई परीक्षामा प्रश्न पत्र बाहिरिएपछि कक्षा ११ र १२ को परीक्षामा त्यस्तो त्रुटी नहोस् भनेर परीक्षा बोर्डले सबै प्रश्नपत्रको सुरक्षाका लागि सिसी क्यामरा जडान गरेको छ। बोर्डले केन्द्र नजिकै सिसीटिभीसहितको सुरक्षा घेराभित्र रहेको कक्षबाट प्रश्नपत्र लैजाँदा केन्द्राध्यक्षलाई मोबाइल समेत बोक्न निषेध गरेको छ।

परीक्षामा जिल्ला परीक्षा समन्वय समिति, केन्द्राध्यक्ष, बोर्डका अधिकारी, मन्त्रालयका अधिकारी, प्रदेशस्थित सामाजिक विकास मन्त्रालय, शिक्षा तथा मानव स्रोत केन्द्र, प्रदेश शिक्षा निर्देशनालयबाहेक अन्यलाई मोबाइल फोन लैजान निषेध गरिएको छ।

परीक्षामा प्रश्नपत्रमा समस्या आए वा प्रश्नपत्र गलत भए तत्काल केन्द्राध्यक्षसँग सूचना पुग्ने गरी ‘बल्क एसएमएस’को व्यवस्था गरेको छ भने कुनै त्रुटि देखिए बोर्डको मुख्यालयमा रहेको विज्ञ समूहले त्रुटि सच्याएर बोर्डलाई जानकारी गराउँदै यसबारे सबै केन्द्रमा जानकारी गराउने व्यवस्था गरेको छ।

परीक्षामा एक हजार १०७ केन्द्राध्यक्ष, एक हजार ४८९ सहायक केन्द्राध्यक्ष, १५ हजार १०७ निरीक्षक, एक हजार ४८९ कर्मचारी, दुई हजार २१४ कार्यालय सहयोगी र १३ हजार १८४ सुरक्षाकर्मीसहित ३४ हजार ४९० जनशक्ति परिचालन गरिने भएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083