प्रभावकारी बन्दै विद्यालयमा योग
वि.सं.२०७६ मंसिर २५ बुधवार ०३:४५
shares

तुलसीपुर । दाङको दङ्गीशरण गाउँपालिका–२ स्थित आधारभूत विद्यालय कौवाघारीमा सञ्चालनमा आएको योग कक्षा प्रभावकारी भएको छ । उक्त विद्यालयले विसं २०७४ माघदेखि विद्यालयमा योग कक्षा शुरु गरेको योग शिक्षक रोवरबहादुर ढकालले बताए ।
उहाँका अनुसार अहिले विद्यालयको सातौँ घण्टीमा उक्त कक्षा सञ्चालन गरिएको छ । अहिले कक्षा ३ देखि ५ सम्मका २० विद्यार्थीले योग कक्षा लिइरहेका छन् । योग कक्षा सञ्चालनमा आएपछि विद्यार्थीलाई सहज भएको उहाँको भनाइ छ । “पहिले योग किताबमा मात्रै पढाइन्थ्यो, अहिले प्रयोगात्मक नै हुने गरेको छ”, उनले भने, “यसले विद्यार्थीलाई चौतर्फी फाइदा भएको छ ।” योग कक्षा शुरु भएपछि विद्यार्थीमा स्वास्थ्य, आहारव्यहार, बोली भाषामा समेत परिवर्तन आएको उनको भनाइ थियो ।
उहाँले पतञ्जली योग समितिको समन्वयमा योग कक्षा सञ्चालनमा आएको भन्दै यसप्रति विद्यार्थी आकर्षित रहेको समेत बताए । अहिले २० विद्यार्थी रहेका र अन्य विद्यार्थीले समेत इच्छा जाहेर गरे पनि उचित साधन, स्रोत नहुँदा केही समस्या रहेको उहाँको भनाइ छ । दाङमा उक्त विद्यालयसहित केही निजी विद्यालयले योग शिक्षा सञ्चालन गरिरहेका छन् । योग कक्षा शुरु भएपछि विद्यार्थीको शैक्षिक अवस्थामा पनि सुधार हुँदै गएको प्रधानाध्यापक लक्ष्मण देवकोटाले बताए ।
दाङको शैक्षिक सुधार गर्न सबै सामुदायिक विद्यालयले यसरी नै योग कक्षा सुधार गर्नुपर्ने दङ्गीशरण गाउँपालिकाका शिक्षा शाखा प्रमुख विनोद अधिकारीले बताए । “योग स्वास्थ्यका लागि मात्रै नभएर चौतर्फी विकासका लागि अपरिहार्य छ”, उहाँले भन्नुभयो, “दाङका सबै विद्यालयले यसरी नै योग कक्षा सञ्चालन गर्नुपर्छ ।” पछिल्लो समय जिल्लाका गाउँ–गाउँमा योग गर्ने कार्यको विस्तार गरिँदै आइएको छ ।































