बानेश्वर बहुमुखी क्याम्पसमा दशैँ उत्सव : नवआगन्तुकको स्वागत, उत्कृष्ट विद्यार्थी सम्मानित
मन्त्री सरल सहयात्री पौडेलको प्रमुख आतिथ्यतामा बानेश्वर बहुमुखी क्याम्पसमा दशैँ विशेष कार्यक्रम सम्पन्न
वि.सं.२०८३ असोज १९ सोमवार १५:२९
shares

काठमाडौं । विजयादशमीको पावन अवसरमा स्वतन्त्र विद्यार्थी युनियन बानेश्वर बहुमुखी क्याम्पसको आयोजनामा दशैँ विशेष शुभकामना आदान–प्रदान, नवआगन्तुक विद्यार्थी स्वागत, उत्कृष्ट विद्यार्थी सम्मान तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय सरल सहयात्री पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा क्याम्पस परिवार, विद्यार्थी तथा विभिन्न विद्यार्थी संगठनका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता स्वतन्त्र विद्यार्थी युनियन बानेश्वर बहुमुखी क्याम्पसका अध्यक्ष भुमिराज अधिकारीले गरेका थिए। कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरिबोल भट्टराई विशिष्ट अतिथि तथा क्याम्पस प्रमुख डा. घमानसिंह खड्का विशेष अतिथिका रूपमा सहभागी भएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री सरल सहयात्री पौडेलले विजयादशमीले नेपाली समाजमा आपसी सद्भाव, एकता, भाइचारा र सहकार्यको भावना अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे। उनले विद्यार्थीहरू देशको भविष्यका आधार भएकाले उनीहरूको शैक्षिक ज्ञानसँगै नेतृत्व क्षमता, सिर्जनशीलता र सामाजिक उत्तरदायित्व विकासमा समेत ध्यान दिनुपर्ने बताए।

क्याम्पस प्रमुख डा. घमानसिंह खड्काले नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै क्याम्पसको शैक्षिक वातावरणलाई थप गुणस्तरीय, अनुशासित र विद्यार्थीमैत्री बनाउन क्याम्पस प्रशासन, प्राध्यापक, कर्मचारी र विद्यार्थीबीच सहकार्य आवश्यक रहेको बताए। उत्कृष्ट विद्यार्थीलाई गरिएको सम्मानले अन्य विद्यार्थीलाई समेत थप मेहनत र उपलब्धिका लागि प्रेरणा मिल्ने उनको भनाइ थियो। त्यसैगरी क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरिबोल भट्टराईले विद्यार्थीको शैक्षिक तथा व्यक्तित्व विकासका लागि क्याम्पस व्यवस्थापन सदैव सकारात्मक र सहयोगी रहने प्रतिबद्धता व्यक्त गर्दै विद्यार्थीका रचनात्मक गतिविधिलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए।
कार्यक्रमका अध्यक्ष तथा स्ववियु अध्यक्ष भुमिराज अधिकारीले स्ववियु विद्यार्थीको हकहित, शैक्षिक सुधार, नेतृत्व विकास र प्रतिभा प्रस्फुटनका लागि निरन्तर क्रियाशील रहेको बताए। उनले नवआगन्तुक विद्यार्थीलाई क्याम्पस परिवारमा हार्दिक स्वागत गर्दै विद्यार्थीको आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर स्ववियुले आगामी दिनमा समेत थप रचनात्मक तथा विद्यार्थीमुखी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा राष्ट्रिय गायक थानेश्वर गौतम, सहायक क्याम्पस प्रमुख रामेश्वर काफ्ले, परशुराम भट्टराई, प्राध्यापक तथा कर्मचारीहरू, क्याम्पसमा क्रियाशील विभिन्न विद्यार्थी संगठनका अध्यक्ष तथा प्रतिनिधिहरू, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा नवआगन्तुक विद्यार्थीहरूलाई औपचारिक रूपमा स्वागत गर्नुका साथै विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। साथै राष्ट्रिय गायक थानेश्वर गौतमको सांगीतिक प्रस्तुति तथा विद्यार्थीहरूका विविध सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक, उल्लासमय र मनोरञ्जनात्मक बनाएको थियो। विद्यार्थीका लागि, विद्यार्थीसँग, विद्यार्थीहरूकै नेतृत्वमा भन्ने भावनालाई आत्मसात् गर्दै आयोजित उक्त कार्यक्रमले क्याम्पसमा विद्यार्थी एकता, आपसी सद्भाव, सांस्कृतिक पहिचान र शैक्षिक उत्कृष्टताको वातावरण निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजक स्ववियुले जनाएको छ।























