चाडपर्व लक्षित शान्ति सुरक्षा तथा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलिप घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न
वि.सं.२०८३ असोज २४ शनिवार १३:२१
shares

काठमाडौं । समुदाय–प्रहरी साझेदारीअन्तर्गत ‘हाम्रो प्रहरी’ कार्यक्रममार्फत शुभकामना आदानप्रदान, चाडपर्व लक्षित शान्ति सुरक्षा तथा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। काठमाडौं महानगरपालिका–३१ वडा कार्यालय, प्रहरी वृत्त नयाँ बानेश्वर तथा सामुदायिक विकास तथा सेवा समिति एवं सामुदायिक प्रहरी सेवा केन्द्र बानेश्वर–३१ को संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। सामुदायिक विकास तथा सेवा समितिका उपाध्यक्ष उज्जन कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलिप घिमिरे प्रमुख अतिथि तथा काठमाडौं महानगरपालिका–३१ का वडाध्यक्ष सरोज ढकाल विशेष अतिथिका रूपमा सहभागी थिए।
काठमाडौं महानगरपालिका–३१, मिनभवनस्थित भोज ब्याङ्क्वेटको सभाहलमा आयोजित कार्यक्रममा वडा सदस्य तथा कार्यपालिका सदस्यहरू, प्रहरी वृत्त नयाँ बानेश्वरका प्रहरी निरीक्षक यज्ञराज जोशी, स्वतन्त्र विद्यार्थी युनियन बानेश्वर बहुमुखी क्याम्पसका अध्यक्ष भुमिराज अधिकारी, आषा कलेजका सञ्चालक बालमुकुन्द मैनाली, साहित्यिक मञ्च बानेश्वर बहुमुखीका अध्यक्ष सुदिप घिमिरे लगायत विभिन्न शैक्षिक, सामाजिक तथा व्यावसायिक संघसंस्थाका पदाधिकारी एवं प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एसएसपी घिमिरेले समुदाय र प्रहरीबीचको सहकार्य, आपसी विश्वास तथा समन्वयलाई थप सुदृढ गर्दै शान्तिपूर्ण, सुरक्षित र अपराधमुक्त समाज निर्माण गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए। समाजमा शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न तथा जनचेतना अभिवृद्धि गर्न नागरिक र प्रहरीबीच निरन्तर सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।
नजिकिँदै गरेका चाडपर्व सुरक्षित र हर्षोल्लासपूर्ण रूपमा मनाउन आग्रह गर्दै घिमिरेले सबैलाई चाडपर्वको शुभकामना व्यक्त गरे। नागरिकबाट प्राप्त सल्लाह, सुझाव तथा जिज्ञासाले प्रहरीलाई आफ्नो कार्यसम्पादन अझ प्रभावकारी बनाउन प्रेरणा मिल्ने उल्लेख गर्दै उनले सहभागी सबैलाई धन्यवाद समेत दिए।
सो अवसरमा काठमाडौं महानगरपालिका–३१ का बासिन्दा तथा विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पदक हासिल गर्न सफल खेलाडी सम्पन्न बस्नेतलाई बधाई तथा आगामी खेलजीवनको सफलताको शुभकामनासहित सम्मानपत्र प्रदान गरिएको थियो। साथै, समाजमा शान्ति सुरक्षा कायम गर्न तथा सामाजिक क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्ने विभिन्न सामाजिक संघसंस्थालाई पनि सम्मानपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा विभिन्न शैक्षिक, सामाजिक तथा व्यावसायिक संघसंस्थाका पदाधिकारी, भूतपूर्व सुरक्षाकर्मी, आमा तथा महिला समूहका प्रतिनिधि, समाजसेवी, महिला कलाकर्मी, पत्रकार तथा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमले चाडपर्वका समयमा हुन सक्ने सम्भावित सुरक्षा चुनौती न्यूनीकरण गर्न, नागरिकमा सुरक्षा सचेतना अभिवृद्धि गर्न तथा प्रहरी र समुदायबीचको सम्बन्ध थप सुमधुर बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
(तस्वीरमा हेनुहोस्)
























