शाखा अधिकृत र TU को MBS/MPA प्रवेश परीक्षा एकैदिन, अखिल क्रान्तिकारीको आपत्ति
परीक्षाको मिति पुनरावलोकन गर्न माग गर्दै त्रिविका सहायक डीनलाई ज्ञापनपत्र
वि.सं.२०८३ मंसिर ८ मंगलवार १३:३४
shares

काठमाडौं । शाखा अधिकृत पदको परीक्षा र त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत स्नातकोत्तर तहको MBS तथा MPA प्रवेश परीक्षा एकैदिन सञ्चालन गर्ने गरी मिति निर्धारण गरिएकोप्रति अखिल क्रान्तिकारीले आपत्ति जनाएको छ। दुवै परीक्षा एकैदिन सञ्चालन हुँदा सरकारी सेवामा प्रवेश गर्ने तयारी गरिरहेका र उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरू प्रभावित हुने भन्दै संगठनले परीक्षा मिति पुनरावलोकन गर्न माग गरेको हो।
यसै विषयलाई लिएर अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयका सहायक डीनसमक्ष ज्ञापनपत्र बुझाउँदै MBS/MPA प्रवेश परीक्षाको निर्धारित मिति परिवर्तन गर्न आग्रह गरेको छ। संगठनका अनुसार एउटै दिन दुई महत्त्वपूर्ण परीक्षा सञ्चालन हुँदा विद्यार्थीहरूलाई कुनै एउटा अवसर छनोट गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना हुन्छ। यसले विद्यार्थीको शैक्षिक तथा व्यावसायिक भविष्यमा समेत असर पार्न सक्ने संगठनको भनाइ छ।
विज्ञप्ति सहित)

सरकारी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गरिरहेका विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्ने अवसरबाट वञ्चित हुन नदिन दुवै परीक्षा फरक–फरक मितिमा सञ्चालन गर्नुपर्ने अखिल क्रान्तिकारीको माग छ। विद्यार्थीहरूको हित र शैक्षिक अवसरलाई ध्यानमा राख्दै त्रिभुवन विश्वविद्यालय प्रशासनले ज्ञापनपत्रमा उठाइएको विषयलाई गम्भीरतापूर्वक लिएर प्रवेश परीक्षाको मिति पुनरावलोकन गर्ने अपेक्षा संगठनले गरेको छ।

















