सेवा व्यवसायीतर्फ सबैभन्दा बढी आयकर तिर्ने नेपाल क्यान मुभ सम्मानित

1.14K
shares

काठमाडौं । लजिस्टिक सेवा प्रदायक कम्पनी नेपाल क्यान मुभ प्रालि (एनसीएम) आन्तरिक राजस्व कार्यालय कोटेश्वरबाट सम्मानित भएको छ। राष्ट्रिय कर दिवस २०८३ को अवसरमा कार्यालयले आफ्नो कार्यक्षेत्रभित्र सेवा व्यवसायीतर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीका रूपमा नेपाल क्यान मुभ प्रालिलाई सम्मान गरेको हो।

कम्पनीले आर्थिक वर्ष २०८१/८२ को आय विवरणअनुसार सेवा व्यवसायीतर्फ सबैभन्दा बढी आयकर दाखिला गरेको भन्दै सोमबार सम्मानपत्र प्रदान गरिएको हो। राष्ट्रिय विकासमा पुर्‍याएको योगदानको उच्च कदर गर्दै कम्पनीलाई सम्मान गरिएको कार्यालयले जनाएको छ। साथै, कम्पनीको करप्रतिको जिम्मेवारी र योगदान अन्य करदाताका लागि समेत प्रेरणाको स्रोत बनेको उल्लेख गर्दै आगामी दिनमा पनि राष्ट्रको आर्थिक विकासमा थप योगदानको अपेक्षा गरिएको छ।

सम्मानपत्र प्रदान गर्दै आन्तरिक राजस्व कार्यालय कोटेश्वरका प्रमुख कर अधिकृत नारायणप्रसाद रेग्मीले व्यावसायिक गतिविधि सञ्चालनका क्रममा विभिन्न चुनौती सामना गर्नुपरे पनि राज्यले असल काम, इमानदार करदाताको योगदान र सकारात्मक व्यावसायिक अभ्यासलाई प्रोत्साहन गर्नुपर्ने बताए।

उनले कर प्रणालीलाई प्रभावकारी बनाउन करदाताको जिम्मेवारीपूर्ण सहभागिता महत्त्वपूर्ण हुने उल्लेख गर्दै नियमित तथा पारदर्शी रूपमा कर दाखिला गर्ने व्यवसायीलाई राज्यले सम्मान र प्रोत्साहन गर्नुपर्ने धारणा राखे।
सेवा व्यवसायीतर्फ सबैभन्दा बढी आयकर दाखिला गरी सम्मानित हुनुले नेपाल क्यान मुभ प्रालिको व्यावसायिक पारदर्शिता, करप्रतिको उत्तरदायित्व र राष्ट्रिय अर्थतन्त्रमा योगदानलाई थप उजागर गरेको छ।