आम नागरिकका दुःख–सुखका साथी हुन् प्रहरी : काठमाडौं प्रहरी प्रमुख एसएसपी दिलिप घिमिरे
वि.सं.२०८३ असोज २४ शनिवार १३:२६
shares

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलिप घिमिरेले आम नागरिकको दुःख–सुखमा साथ दिनु नै प्रहरी सेवाको प्रमुख दायित्व भएको बताएका छन्।शुभकामना आदानप्रदान तथा चाडपर्व लक्षित शान्ति सुरक्षा एवं नागरिक सुनुवाइ कार्यक्रममा बोल्दै एसएसपी घिमिरेले प्रहरी नागरिकको सेवक र दुःख–सुखको साथी भएको उल्लेख गरेका हुन्।
नागरिकको सुरक्षा, सेवा र सहयोगलाई प्राथमिकतामा राख्दै प्रहरी संगठनलाई जनमैत्री, उत्तरदायी र विश्वासयोग्य बनाउन आवश्यक रहेको उनले बताए। प्रहरी र नागरिकबीचको सहकार्य, आपसी विश्वास तथा समन्वयले समाजमा शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।
“प्रहरी नागरिकको सेवक हो, नागरिकको दुःख–सुखमा साथ दिने साथी हो” भन्ने भावनालाई आत्मसात् गर्दै आम नागरिकको भरोसा जित्ने गरी सेवा प्रवाह गर्नुपर्नेमा उनले जोड दिए।समाजमा शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न तथा नागरिकलाई सुरक्षित वातावरण प्रदान गर्न प्रहरी र समुदायबीच निरन्तर सहकार्य आवश्यक रहेको घिमिरेले बताए। विशेषगरी चाडपर्वको समयमा सम्भावित सुरक्षा चुनौतीलाई न्यूनीकरण गर्न नागरिक सचेतना र प्रहरी–नागरिक समन्वय प्रभावकारी हुनुपर्ने उनको धारणा थियो।
नागरिकका गुनासा, सुझाव र जिज्ञासालाई सम्बोधन गर्दै प्रहरी सेवालाई अझ प्रभावकारी बनाउने उद्देश्यले आयोजित नागरिक सुनुवाइ कार्यक्रमले प्रहरी र समुदायबीचको सम्बन्ध थप सुमधुर बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। कार्यक्रममार्फत नागरिकको सुरक्षा र सेवामा समर्पित रहँदै समुदायसँग हातेमालो गरेर अघि बढ्ने सन्देशसमेत प्रवाह गरिएको छ।



















