आमाको सम्झनामा उपप्रमुख अधिकारीको अनुकरणीय कार्य, ‘सुमित्रा अधिकारी स्मृति अक्षय कोष’ स्थापना

1.44K
shares

भैरहवा, १५ असोज । आमा ! एउटा यस्तो पवित्र नाम, जो संसारमा नरहे पनि उनले दिएका संस्कार र परोपकारी भावनाहरू सदैव जीवितै रहन्छन् । आफ्नी ममतामयी स्वर्गीय माता सुमित्रा अधिकारीको स्मृतिलाई समाजसेवाको पवित्र कार्यसँग जोड्दै सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले एक अनुकरणीय र सह्रानीय कार्य गरेकी छिन् ।उपप्रमुख अधिकारीले सिद्धार्थनगर–९, गोलीगढ, रूपन्देहीस्थित श्री स्वस्तिक महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा आफ्नी स्वर्गीय माताको सम्झनामा रु. १,००,०००/- (अक्षरेपी एक लाख रुपैयाँ मात्र) को अक्षय कोष स्थापना गरेकी हुन् ।

आमाको पवित्र सम्झना सधैंका लागि जीवन्त रहोस् र त्यसले समाजका असहाय एवम् विपन्न वर्गको जीवनमा मलम लगाउन सकोस् भन्ने मूल उद्देश्यका साथ सो रकम हस्तान्तरण गरिएको हो । उक्त रकम संस्थाकी अध्यक्ष लता पोख्रेलले अत्यन्तै आदरभाव र कृतज्ञताका साथ विधिवत् रूपमा ग्रहण गरेकी छिन् ।श्री स्वस्तिक महिला बचत तथा ऋण सहकारी संस्थाको इतिहासमा पहिलो पटक स्थापना गरिएको यस “स्वर्गीय सुमित्रा अधिकारी स्मृति अक्षय कोष” को मूलधनलाई सधैंका लागि सुरक्षित राखिने संस्थाले जनाएको छ । कोषको मूलधनबाट प्राप्त हुने ब्याज तथा प्रतिफललाई मात्र संस्थाको अक्षय कोष सम्बन्धी कार्यविधि, २०८३ र प्रचलित नियमकानुनको परिधिभित्र रही शैक्षिक, सामाजिक, स्वास्थ्य, मानवीय लगायतका विभिन्न सेवामूलक कार्यहरूमा पूर्ण पारदर्शी ढङ्गले परिचालन गरिनेछ ।

आफ्नी जननीको सम्झनालाई व्यक्तिगत शोकमा मात्र सीमित नराखी समाजको वृहत्तर हित र कल्याणका लागि रूपान्तरण गरेर नगर उपप्रमुख उमा अधिकारीले देखाएको यो उदाहरणीय योगदान, त्याग र विशाल हृदयको स्वस्तिक महिला सहकारी परिवार उच्च सम्मान गर्दै भावपूर्ण आभार प्रकट गर्दछ । आमाको नामबाट सञ्चालित यो अक्षय कोषले आगामी दिनमा समाजका कैयौँ अँध्यारा पाटाहरूलाई उज्यालो बनाउन ऊर्जा प्रदान गर्ने विश्वास संस्थाले लिएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083