राष्ट्रपति भण्डारीले आज नीति तथा कार्यक्रम पेस गर्ने
वि.सं.२०७६ वैशाख २० शुक्रवार ११:२२
shares

काठमाडौं ।आर्थिक वर्ष २०७६र७७ को वार्षिक नीति तथा कार्यक्रम शुक्रबार सङ्घीय संसद्मा पेस हुँदैछ।
सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गर्ने छन्। संघीय संसदको संयुक्त बैठक अपराह्न ४ बजे बोलाइएको छ।
यो वर्ष बजेट पूर्वको छलफल अघि नै नीति तथा कार्यक्रम पेस हुन लागेको हो। नीति तथा कार्यक्रम अनुमोदन भएपछि मात्र बजेट पूर्वको छलफल हुनेछ।
बजेट पूर्वको छलफलअघि नै नीति तथा कार्यक्रम ल्याइन लागेको भन्दै प्रमुख विपक्षी दल नेपाली कांग्रेसले भने असन्तुष्टि जनाएको छ। नीति तथा पेस भएपछि छलफल हुनेछ। बढीमा तीन दिनसम्म छलफल चलाउने तयारी गरिएको छ। छलफलमा उठेका प्रश्नमा प्रधानमन्त्रीले सम्बोधन गरेपछि अनुमोदनको प्रक्रिया सुरु हुनेछ।
नीति तथा कार्यक्रम पेसका लागि सङ्घीय संसद् सचिवालयले सम्पूर्ण तयारी पूरा गरिसकेको छ। यो वर्ष पनि सरकारले प्रदेश र स्थानीय तहले सम्पन्न गर्नुपर्ने आयोजनाको वित्तीय सुनिश्चिततासहित सम्बन्धित तहलाई थप हस्तान्तरण गर्ने नीति लिएको छ।






























