स्मार्ट लाइसेन्स छपाई सुरु
वि.सं.२०७६ मंसिर २५ बुधवार ०७:२२
shares

काठमाडौं । नेपाल सरकारले स्मार्ट लाइसेन्सको छपाइका लागि ल्याएको मास प्रिन्टरले कार्ड छाप्न थालेको छ । लामो समय बित्दा पनि प्रयोगमा ल्याउन नसकेको मेसिनलाई यसै हप्ताबाट नियमित प्रयोगमा ल्याएर कार्ड छपाईको काम सुरु गरेको हो ।
४ महिनाभित्रै सबै स्मार्ट लाइसेन्सको छपाइ सकेर सेवाग्राहीलाई वितरण गरिने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । इटालियन कम्पनी माटिकाको यो मेसिनले घण्टाको ४५० वटासम्म लाइसेन्स प्रिन्ट गर्न सक्ने विभागको दाबी छ ।
अहिले यो मेसिन दिनमा ८ घण्टा मात्रै चलाएर लाइसेन्स छापिँदैछ । दैनिक यो मेसिनले ८ हजारसम्म छपाइ गर्ने अनुमान विभागको छ । जस अनुसार महिनामा साढे दुई लाख लाइसेन्स छापिनेछ ।
अहिले करिब ९ लाख चालक सबै प्रक्रिया पूरा गरेर लाइसेन्सको प्रतीक्षामा छन् । चालकलाई राजश्व तिरेको बिलका भरमा सवारी चलाउनुपर्ने बाध्यता छ । सरकारले लामो समयदेखि स्मार्ट लाइसेन्सको माग धान्न सकेको छैन ।




























