राप्रपा नेता सुनील थापालाई कांग्रेसमा भित्र्याएर सहमहामन्त्री बनाउने देउवाको तयारी
वि.सं.२०७७ साउन ५ सोमवार ०७:२९
shares

राप्रपा नेता सुनीलबहादुर थापालाई कांग्रेस प्रवेश गराउने गरी सभापति शेरबहादुर देउवाले तयारी गरेका छन् । पदाधिकारी तहमै ल्याउनेमा कुरा मिलेमा अबको एक हप्ताभित्रै थापासहितका केही केन्द्रीय सदस्य कांग्रेस प्रवेश गर्ने जनाइएको छ ।
यसअघि पनि कांग्रेस प्रवेशका लागि थापाले महामन्त्रीमा दाबी गरेका थिए । तर, कांग्रेसमा उनलाई महामन्त्रीमा ल्याउनेबारे शीर्ष नेतृत्व तहमा सहमति जुटेको थिएन ।
फेरि १४ औँ महाधिवेशन नजिकिँदै गर्दा पदाधिकारी दिनै परे सहमहामन्त्री दिएर भए पनि ल्याउने गरी देउवाले उपसभापति विमलेन्द्र निधिलाई वार्ताको जिम्मा दिएका छन् ।
‘कांग्रेस प्रवेश गर्नेबारे उहाँसँग धेरै अघिदेखि कुरा हुँदै आएको थियो । अहिले पनि भइरहेको छ । पदाधिकारी तहमै कुरा मिले अब यो हप्ताभित्र उहाँ केही केन्द्रीय सदस्यसहित कांग्रेस प्रवेश गर्दै हुनुहुन्छ,’ सभापति देउवानिकट स्रोतले भन्यो, ‘कांग्रेसमा उहाँको दाबी पदाधिकारीमा पनि महामन्त्रीमा छ, तर पार्टीले सहमहामन्त्री दिएर भित्र्याउने तयारी गरेको छ ।’
थापाको कांग्रेस प्रवेशको विषयमा उपसभापति विमलेन्द्र निधि निरन्तर छलफल र सम्पर्कमा छन् । निधिले थापा र उनीसँगै आउने केन्द्रीय सदस्य टुंग्याएपछि पार्टी प्रवेशको कार्यक्रम राख्ने तयारी भएको जानकारी सभापति देउवानिकट स्रोतले दियो ।
तर, १४औँ महाधिवेशनको मुखमा थापालाई पदाधिकारी तहमै ल्याउनेबारेमा कांग्रेस शीर्ष नेतृत्व एकमत भने छैन । महाधिवेशनको मुखमा सभापतिले ठूलो पद दिएर नेता भित्र्याउँदा आफूहरूलाई अप्ठ्यारो पर्ने बुझाई पूर्वसंस्थापनको छ ।
तैपनि महाधिवेशन नजिक आएकोले आफूलाई पनि सहयोग जुट्ने हुँदा सहमहामन्त्री दिएर भएर पनि ल्याउने तयारीमा देउवा पुगेका हुन् । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनील मन्त्री पनि भइसकेका छन् ।
राप्रपामा अरू नेताहरूले राजसंस्था र हिन्दूराष्ट्रका लागि वकालत गरे पनि थापा गणतन्त्र पक्षधर नेता मानिन्छन् । नयाँ पत्रिका दैनिकबाट !































