जब घरका छतछतमा राँका बले

19.71K
shares

काठमाडौं : आहा ! संस्कार-संस्कृतिमा कति समृद्धशाली छौं हामी। रौनकपूर्ण यस्ता संस्कारमध्ये एक हो- डोल्पाको लुतो फाल्ने पर्व। अचेल लुतो त कमैलाई आउँछ, तर डोल्पामा हरेक वर्ष यसलाई फालेको फाल्यै गरिन्छ। साउने संक्रान्तिको साँझ। घरका छत-छतमा उजो (झरो) बालेर।

डोल्पाका अधिकांश गाउँमा लुतो फाल्ने प्रचलन छ। यसलाई यहाँ उल्लासपूर्वक मनाइन्छ। बिहानदेखि घर कमेरो, रातोमाटो र गोबरले लिपपोत गरिन्छ। साँझमा झरो बालेर गाउँ झिलिमिली पारिन्छ। त्यसका लागि सल्लो वा देवदारको झरो पहिल्यैदेखि जोहो गरिन्छ।

हरेक गाउँमा मुखिया हुन्छन्। झमक्क साँझ परेपछि पहिला मुखियाको घर उज्यालिन्छ। त्यो देख्नासाथ वरिपरिका सबै घरले बाल्न थाल्छन्। टोलटोलबीच कसले छिटो बाल्ने भन्ने प्रतिस्पर्धा चल्छ। सँगसँगै खसी, बोका वा कुखुरा काटेर घरघरमा पर्व मनाइन्छ।

एउटा घरको छतमा पहिला १५ देखि २५ ठाउँ झरो बालिन्थ्यो। एक डोकोले सरदर दुई ठाउँ पुग्छ। यसले वन मासिएको, वातावरण दूषित बनेको भन्दै हामी स्थानीय युवाले कम गराउने अभियान थालेका छौं। परम्परा जोगाउने, वन पनि बचाउने हाम्रो चाहना हो।

हाम्रो गाउँ ठूलीभेरी नगरपालिका-५ माझफालमा यसपालि प्रायः घरले ९ ठाउँ झरो बाले। ३ होटा, ३ थाडा र ३ पान्थाडा। १ सय ६५ घर रहेको रहेको यस गाउँमा यसपालि सयवटा जति खसी काटिए। हर्षबढाइँ गर्दै बन्दुक पड्किए। गाउँमा उत्साह-उमंग भरियो।