डिआईजी-हवल्दार यस्ताे छ कनेक्सन, पैसा असुल्नेलाई पुरस्कार

13.6K
shares

केहि समय अघि सिन्धुली जिल्लाको खुर्कोटमा कार्यरत अस्थायी ट्राफिक प्रहरी पोस्ट खुर्कोटका ट्राफिक प्रहरी हवल्दार रामप्रसाद थपलियाले बागमती प्रदेशकै सर्वोत्कृष्ट ट्राफिक प्रहरी (साउन महिना) पुरस्कार पाए ।

वाग्मती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक वसन्त कुमार लामाले हवल्दार थपलियालाई सम्मान पत्र प्रदान गरेका हुन ।उनी पुरष्कृत भएपछि पुरस्कार नै लजाएको भन्दै खुर्कोटमा चर्चा भएको छ । अनगिन्ती पटक कारबाहीमा परेका हवल्दार थपलिया आफुलाई बागमती प्रदेशका प्रहरी प्रमुख डिआईजी बसन्त लामाको खास मान्छे हुँ भन्दै डंका पिट्दै हिड्ने गरेको खुर्कोटका एक व्यवसायीले नाम नखोल्ने सर्तमा कान्तिपथलाई बताए । उनले भने, ‘नत्र भने पुरस्कार पाउनका लागि उनले गरेका उल्लेख्य कामहरु केके हुन् ? उनको कार्यसम्पादन मुल्यांकनको अंक कति हो ?’ ट्राफिक प्रहरी कै एक उच्च स्रोतका अनुसार हवल्दार थपलिया जहाँ गएपनि कारबाहीमा पर्ने विवादित छबि भएका प्रहरी अधिकारी हुन ।

थपलियाले खुर्कोट लगायतका क्षेत्रमा डिआईजीको मान्छे हुँ भन्दै असुलीको आतंक मच्चाएर सर्वसाधारण जनतालाई दुख दिने गरेका छन् । असुलीबाट उठेको रकम उनले डिआईजी लामालाई पनि बुझाउने गरेको स्रोतले बतायो ।

विश्वब्यापी कोरोना भाईरसको महामारीका कारण लामो समय देशभर लकडाउन र निषेधाज्ञा जारि गरियो, सार्वजनिक यातायात नचल्ने हुनाले लाखौं मजदूर अलपत्र भए, हिंडेर घर जना बाध्य भए। कतिपय निजि सवारी साधन भएकाहरु सवारी पासको व्यवस्था गरेर आफ्नो गन्तब्यसम्म पुगे । आर्थिक अवस्था जर्जर भएका मजदूरलाई समेत उनले पैसा असुली गरेर मात्र छाडेको खुर्कोटका ति व्यवसायीले बताए । उनको असुलीले चरम रुप लिएपछि आजित भएका केहि व्यक्तिले भने प्रहरी प्रधान कार्यालय, नक्सालमा लिखित र कहिले मौखिक उजुरी समेत दिएका थिए । तर उनलाई कारबाही गर्नबाट रोक्न डिआईजी लामा सिखण्डी बनेर उभिएका छन् ।

नेपाल प्रहरीमा स्वच्छ र इमान्दारको छबि बनाएका आईजीपी शैलेश थापाकै निर्देशनमा प्रहरी प्रधान कार्यालयले सत्य/तथ्य बुझ्न भन्दै २०७७ साल भदौ ३० गते पत्र काटेको थियो । प्रहरी महानिरिक्षकको सचिवालय अन्तर्गत प्रहरी निरिक्षनालय, निरिक्षण तथा उजुरी छानबिन शाखाले जिल्ला प्रहरी कार्यालय, सिन्धुलीलाई बोधार्थ राख्दै बागमती प्रदेश प्रहरी कार्यालयलाई चिठी लेखेको थियो । निज हवल्दार थपलियालाई केहि कुरा बुझ्न पर्ने हुँदा उक्त शाखामा सम्पर्क राख्न भनिएको थियो, तर उनी अझै खुर्कोटमै डिआईजी लामाको नाम भजाएर बसेका छन् । पत्रको मसि सुक्न नपाउदै डिआईजी लामाले यो सानो कुरा म हेरिहाल्छु नि आईजी’साप भन्दै आईजीपी थापालाई मनाए तर उनले कारबाही गर्नुको साटो उल्टै थपलियालाई प्रदेशकै सर्वोत्कृष्ट ट्राफिक प्रहरी पुरस्कार दिंदै आईजीपीको आँखामा छारो हाल्ने काम गरेका छन् । प्रहरीको सामान्य रेकर्ड समेत नहेरी पुरष्कृत गरेको कुरा लामाले लाजै नमानी आईजीपीलाई रेपोर्टिङ्ग गरे ।

काठमाडौँमा भएका उजुरीकर्तालाई समेत धम्काउदै बयान दिनका लागि भन्दै सिन्धुली बोलाईयो । उजुरीकर्ताले जे सुकै गर्नुस आफु त्यहाँ आउने नसक्ने बताएपछि उजुरीकर्ता बस्ने नजिकको स्थान महानगरीय प्रहरी वृत, ठिमीमा उजुरीकर्ताले बयान दिएका छन् । हालसालै बयान सकिएको छ । जनतालाई दुख दिने थपलियालाई कारबाही हुन्छ कि खुर्कोटको बाटो हिड्दा फेरी पैसा बुझाउनु पर्ने हो त्यो भने प्रतिक्षाको विषय बनेको छ ।