पार्टीमा विवाद छ तर फुट्ने कुरा छैन : नेता रावल
वि.सं.२०७७ मंसिर ७ आइतवार १०:३२
shares

डोटी : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले पार्टी कुनै पनि हालतमा नफुट्ने, बरु एकजुट भएर जाने बताएका छन्।
जिल्लाको पूर्वीचौकी गाउँपालिका–२ बग्लेकमा कार्यकर्तासँगको भेटघाटमा रावलले पार्टीमा पछिल्लो समय आन्तरिक विवाद भए पनि पार्टी कुनै पनि हालतमा नफुट्ने बताएका हुन्।
‘पार्टीमा विवाद छ तर फुट्ने कुरा छैन’, उनले भने, ‘विवाद समाधान गरेर पार्टी मजबुत भएर जानेछ।’
नेता रावलले यही १३ गते बोलाइएको सचिवालय र स्थायी कमिटी बैठकसँगै केन्द्रीय कमिटीको बैठकमा विवाद हुने अवस्था देखिए पनि सबै समस्या तथा मनमुटाव समाधान हुने दाबीसमेत गरे।
‘नेकपा ठूलो पार्टी हो, ठूलो ठाउँमा विवाद भइहाल्छ’, उनले भने, ‘तर पार्टी नै फुटिहाल्छ भन्ने अवस्था छैन।’
नेता रावलले नेकपाका सबै नेता लोकतन्त्रमा विश्वास राख्ने भएका कारण पार्टी कमिटीले गरेको निर्णय दुवै अध्यक्षले अनिर्वाय मान्नुपर्ने तथा मान्दिनँ भन्न कसैलाई छुट नभएको बताए। जनमतको कदर गर्नकै लागि भए पनि पार्टी हमेशा एकढिक्का भएर जानेसमेत उनले सुझाव दिएका छन्।
नेता रावलले नेकपा भ्रष्टाचार विरोधी पार्टी भएकाले पार्टीमा भ्रष्टाचार गर्ने जोकोहीलाई पनि कारवाही हुने बताए। नेकपा सरकारको पालामा भ्रष्टाचार बढ्यो भन्नु प्रतिपक्षको आरोप भएकाले त्यस्ता आरोपमा कुनै विश्वास नभएको उनको भनाइ छ।
‘हामी नागरिकको रक्षा र देशको विकासका लागि सरकारमा गएका हौँ’, उनले भने, ‘नेकपाको सरकारको पालामा विकासका गतिले तीव्रता पाएपछि प्रतिपक्षले भ्रष्टाचार ग-यो भन्ने आरोप लगाएका हुन्, जुन आरोप निराधार छन्।’






























