ओली र देउवा बीच गोप्य बैठक, नयाँ सरकार गठनका बारेमा छलफल !

9.7K
shares

प्रचण्डसहित पाँच जना सचिवालय सदस्यलाई दिएको १० पृष्ठ लामो जवाफ र ३ गतेको बैठकमा गरेको सम्बोधनले ओलीको ‘काउन्टर’ प्रस्ताव निकै आक्रामक हुने धेरैको आँकलन छ। जसको तयारी गर्ने काम बालुवाटारमा एउटा टिमले गरिरहेको छ।

नेकपा स्थायी कमिटीका ओली निकट एक नेताका अनुसार सकेसम्म प्रस्ताव फिर्ता लिने गरी प्रचण्डलाई मनाउन विभिन्न तहमा उनीसँग छलफल गर्ने, आवश्यक परे पार्टी विभाजन गर्न सहयोग हुने गरी अध्यादेश जारी गर्ने, पार्टी सचिवालय र संसदीय दलमा आफ्नो पक्षमा बहुमत जुटाउन सकेसम्म प्रयास गर्ने, संसद विघटन वा पार्टी विभाजन गर्नु परेको अवस्थामा कानुनी तयारी गर्ने कार्य त सँगसँगै भइरहेकै छ।

ओली पक्षले देशव्यापी रुपमा आफ्नो शक्ति आँकलन गर्न राज्यका संयन्त्रहरू र मदन भण्डारी फाउण्डेसनका स्थानीय सञ्जाल समेत परिचालन गरेको प्रचण्ड–नेपाल पक्षको दाबी छ। स्थानीय तहबाट आएका तथ्याङ्कको विश्लेषणको आधारमा केन्द्रमा आफ्नो शक्ति आँकलन गर्ने कार्य भइरहेको छ। जिल्ला र स्थानीय तहबाट आएका रिपोर्टहरू हेर्दा कार्यकर्ताको चाहना पूर्वमाओवादीसँग छुट्टिएर पूर्वएमाले पुनर्गठन गर्नुपर्छ भन्ने बढी रहेको ओली निकट एक जना केन्द्रीय सदस्यले बताए।

ओली पक्षले अहिले गरिरहेको अर्को तयारी हो, नेकपाको संसदीय दलमा अल्पमतमा परेर पार्टी विभाजन गर्नु परेको अवस्थामा पनि सरकारमा रहिरहन नेपाली कांग्रेससँग गठबन्धनको तयारी। पार्टी विभाजन भएको अवस्थामा गठबन्धन सरकार बनाउन सकिन्छ कि सकिँदैन, कांग्रेससँग गठबन्धन गर्दा के कसरी गर्ने जस्ता विषयमा कांग्रेसका सभापति शेरबहादुर देउवासँग निरन्तर वार्ताहरू भइरहेको स्थायी कमिटीका अर्का एक नेताले दाबी गरे। प्रेस काउन्सिलका पुर्व कार्यकारी अध्यक्ष किशोर श्रेष्ठका अनुसार ओली र देउबाका बीच यिनै विषयमा केन्द्रित रहेर हिजो ३ घण्टा वार्ता भएको छ ।

सामाजिक संजालमा उनले भनेका छन्, ‘नेकपा अध्यक्ष तथा सरकार प्रमुख र नेपाली काङ्ग्रेस सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेतावीच हिजो दिउँसोदेखि रातिसम्म तीन घण्टा समूहसहित राखेर बालुवाटारमा छलफल । के आउने होला अबको केही दिनमा नतिजा ?’

भारतीय राजदूत विनयमोहन क्वात्राले देउवालाई उनकै निवासमा भेटेपछि ओली र देउवाबीच भएको भेटवार्तालाई अर्थपूर्णरुपमा लिइएको छ । क्वात्राले देउवालाई बूढानीलकण्ठस्थित देउवा निवासमा शुक्रबार लामो छलफल गरेका थिए । कांग्रेस सांसद अमरेशकुमार सिंहको सक्रियतामा ओली र देउवाबीच भेटवार्ता भएको भेटवार्तामा सहभागी एक नेताले बताए । नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला भएको ओली देउवा भेटवार्तालाई अर्थपूर्णरुपमा लिइएको छ ।

बालुवाटारमा भएको भेटवार्तामा ओलीसँगै नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ, उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललगायत सहभागी थिए । ओली निकट मानिएका अर्थमन्त्री विष्णु पौडेललाई भने भेटवार्ताबारे जानकारीसमेत नदिइएको बालुवाटार स्रोतले जनाएको छ ।

महासचिव पौडेलले बेलुकी ओलीसँग छुट्टै छलफल गरेका छन् । त्यहीँ क्रममा देउवासँगको भेटवार्ताबारेमा महासचिव पौडेलले जानकारी पाएका थिए । ओलीसँग भेटवार्ताका लागि देउवाले आफ्ना विश्वासपात्र रमेश लेखक र गोपालमान श्रेष्ठलाई बालुवाटार लगेर गएका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083