बलात्कारको आरोपी सिद्धबाबालाई सुनसरी जिल्ला अदालतले दियो सफाइ

15.37K
shares

आफ्नै अनुयायी माथी बलात्कार गरेको आरोपमा थुनामा रहेका धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले सफाइ दिएको छ । सोमबार न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सरकारको अभियोग दाबी नठहर्ने उल्लेख गर्दै गिरीलाई सफाइ दिएको हो ।

यसअघि गिरीलाई जिल्ला अदालत सुनसरी, उच्च अदालत विराटनगर र सर्वोच्च अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो। तिनै तहका अदालतले कारागार चलानको आदेश दिएपछि गिरी त्यसविरूद्ध फैसला माग्दै सुरू अदालतमा निवेदन दिन पुगेका थिए।

जिल्ला अदालत सुनसरीका श्रेस्तेदार नगेन्द्रप्रसाद पोखरेलले सिद्धबाबाल सफाइ पाउने ठहर भएको जानकारी दिए । सरकारी वकिलले पेशी सार्न दिएको निवेदनको बेवास्ता गर्दै सोमबार नै सिद्धबाबाको मुद्धामा सुनुवाई गरिएको थियो ।

सरकारी वकिल कार्यालयले भने महान्यायाधिवक्ता कार्यालयमा पठाएको मिसिल आइनसकेको र यसअघि सिद्धबाबाको वकिल हेर्ने सरकारी वकिल सरुवा भएकाले सोमबारको पेशी सार्न माग गरेको थियो ।

तर न्यायाधीश कोइरालाको इजलासले पेसी नसर्ने भन्दै सुनुवाई अघि बढाएको थियो । पेसी सार्ने पत्र दर्ता नभएपछि सरकारी वकिलको कार्यालय भने सोमबार बहस गर्न गएको थिएन ।


divya collage
unigloble collage