जलपरीदेखि आईफिल टावरसम्मः रुपन्देहीको महोत्सव

8.14K
shares

रुपन्देही। नेपालमा पहिलोपटक जलपरीको प्रत्यक्ष प्रस्तुति देख्न पाइने ऐतिहासिक अवसर यही सातौँ लुम्बिनी महोत्सव २०८२ मा हुने भएको छ । च्याम्बर अफ कमर्स (उद्योग व्यापार सङ्गठन) रुपन्देहीद्वारा आयोजनामा मंसिर ३ देखि २१ गतेसम्म भैरहवाको अञ्चलपुरमा भव्य रूपमा सञ्चालन हुने भएको हो। महोत्सवको उद्देश्य उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धनलाई एकै ठाउँमा समेट्नु हो, जसले स्थानीय उत्पादनको प्रचार, सांस्कृतिक विविधताको प्रदर्शन र पर्यटकीय आकर्षणको विस्तार गर्ने अपेक्षा गरिएको छ।

संस्थाका अध्यक्ष सचीन रोक्काले रुपन्देहीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै यसपटक नेपालमा पहिलोपटक भियतनामबाट चारजना जलपरीहरू ल्याइने बताउनुभयो। उहाँका अनुसार जलपरीहरूले महोत्सवमा प्रत्यक्ष जल प्रस्तुति दिनेछन्, जुन दर्शकका लागि अविस्मरणीय अनुभव हुनेछ। साथै, महोत्सवमा फिस टनेल, आईफिल टावर मोडल, बालउद्यान, तथा राष्ट्रिय–स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति पनि समावेश गरिनेछ। यसले महोत्सवलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।

संस्थाका महासचिव लक्ष्मी अधिकारीले महोत्सवमा हस्तकला, खाद्यन्न, कृषि सामग्री लगायतका वस्तुहरू प्रदर्शनीका लागि २५० स्टल रहने जानकारी दिनुभयो। उहाँले महोत्सवको आयोजनका लागि १ करोड ३२ लाख रुपैयाँ खर्च अनुमान गरिएको समेत बताउनुभयो। महोत्सवमा सहभागी हुने दर्शकका लागि टिकट दर पनि वर्गअनुसार फरक राखिएको छ। व्यक्तिगत विद्यार्थीका लागि ८० रुपैयाँ, समूहगत विद्यार्थीका लागि ५० रुपैयाँ, अपाङ्गता भएका तथा ७० वर्षमाथिका ज्येष्ठ नागरिकका लागि ५० रुपैयाँ, ८० वर्षमाथिका ज्येष्ठ नागरिकका लागि निःशुल्क प्रवेश व्यवस्था गरिएको छ भने अन्य दर्शकका लागि १५० रुपैयाँ टिकट शुल्क लाग्नेछ।

महोत्सवको संरक्षकमा सिद्धार्थनगर नगर कार्यपालिकाको कार्यालय, नेपाल चेम्बर अफ कमर्स काठमाडौँ, तथा लुम्बिनी प्रदेश चेम्बर अफ कमर्स रहेका छन्। सहआयोजकमा कृषि तथा भूमि व्यवस्था मन्त्रालय, उद्योग, पर्यटन तथा यातायात मन्त्रालय लुम्बिनी प्रदेश रहेका छन्। प्रवद्र्धकको रूपमा पर्यटन विकास परिषद् लुम्बिनी प्रदेश रहनेछ भने सहप्रायोजकमा एस आर स्टिल एण्ड एस आर फुड्स प्रा.लि. रहेका छन्।

नेपालमा पहिलोपटक जलपरीको प्रत्यक्ष प्रस्तुति, फिस टनेलको अनुभव, र अन्तर्राष्ट्रिय शैलीको संरचना समावेश भएको सातौँ लुम्बिनी महोत्सव २०८२ केवल प्रदर्शनी होइन, सांस्कृतिक इतिहासको नयाँ अध्याय बन्नेछ विश्वास गरीएको छ । आयोजकहरूले महोत्सवलाई स्थानीय उत्पादनको प्रवद्र्धन, पर्यटन आकर्षणको विस्तार, तथा सामाजिक एकताको उत्सवका रूपमा चित्रण गरेका छन्। यो महोत्सवले रुपन्देहीको आर्थिक र सामाजिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।