सेन्ट लरेन्स कलेजद्वारा कक्षा ११ का नवआगन्तुक विद्यार्थीका लागि भव्य अभिमुखीकरण कार्यक्रम सम्पन्न

1.87K
shares

काठमाडौं ।  काठमाडौंको चावहिलस्थित सेन्ट लरेन्स सेकेन्डरी स्कुल एन्ड कलेज ले कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूका लागि अभिमुखीकरण तथा परामर्श (ओरियन्टेसन एन्ड काउन्सिलिङ) कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा कलेजका अध्यक्ष केशवप्रसाद दंगालको सभापतित्व तथा चर्चित हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेल को प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा पर्वतारोही मिङमार तामाङ, सामाजिक अभियन्ता समिर जोशी, कलेजका प्रिन्सिपल ताराप्रसाद सुवेदी, क्याम्पस चिफ पुरुषोत्तम महर्जन, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले विद्यार्थी जीवनको महत्व, लक्ष्य निर्धारण, सकारात्मक सोच, अनुशासन, समय व्यवस्थापन र सफल करियर निर्माणका विषयमा प्रेरणादायी मन्तव्य व्यक्त गर्नुभयो। उहाँहरूले उच्च शिक्षाको यात्रामा आत्मविश्वास, लगनशीलता र सिर्जनशीलतालाई आत्मसात गर्दै अघि बढ्न विद्यार्थीहरूलाई आग्रह गर्नुभयो।

कार्यक्रमका सभापति तथा सेन्ट लरेन्स कलेजका अध्यक्ष केशवप्रसाद दंगालले गुणस्तरीय शिक्षा, अनुशासित शैक्षिक वातावरण र व्यावहारिक ज्ञानमार्फत सक्षम तथा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने कलेजको प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सेन्ट लरेन्स शैक्षिक परिवारअन्तर्गत हरेक वर्ष करिब ४ हजार ५ सय विद्यार्थी अध्ययनरत रहेको जानकारी दिँदै विगत ३० वर्षको शैक्षिक यात्रामा संस्थाले धेरै दक्ष जनशक्ति उत्पादन गरेको बताउनुभयो।

उहाँले युवाको नेतृत्व र सिर्जनशीलताले देश निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै विद्यार्थीको भविष्य निर्माणका लागि कलेज निरन्तर प्रतिबद्ध रहेको बताउनुभयो।
यसैगरी क्याम्पस चिफ पुरुषोत्तम महर्जनले नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै सेन्ट लरेन्सको अनुशासन, उत्कृष्ट शैक्षिक वातावरण र सफलताको परम्परालाई निरन्तरता दिने जिम्मेवारी नयाँ पुस्ताका विद्यार्थीहरूको काँधमा रहेको बताउनुभयो। उहाँले कक्षा ११ र १२ को अध्ययन जीवनको महत्वपूर्ण चरण भएको उल्लेख गर्दै यस अवधिलाई उपलब्धिमूलक बनाउन विद्यार्थीहरूलाई प्रेरित गर्नुभयो।

कलेजका प्राचार्य ताराप्रसाद सुवेदीले विद्यार्थीहरूलाई आफ्नो रुचिअनुसार अध्ययन क्षेत्र छनोट गर्न, आवश्यक परे विषय वा फ्याकल्टी परिवर्तनबारे परामर्श लिन आग्रह गर्नुभयो। उहाँले कलेजले सञ्चालन गर्ने विभिन्न अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागी भई नेतृत्व विकास र व्यवहारिक ज्ञान हासिल गर्न सुझाव दिनुभयो।

उहाँले कलेजमा गठन गरिएका विभिन्न ११ वटा क्लबमार्फत विद्यार्थीको क्षमता विकासमा जोड दिइएको बताउँदै वार्षिक रूपमा आयोजना हुँदै आएको साइन्स एन्ड आईटी एक्स्पोमा सहभागी भएर नयाँ सिर्जनात्मक काममा लाग्न विद्यार्थीहरूलाई आग्रह गर्नुभयो।

कार्यक्रममा कक्षा १२ मा अध्ययनरत छात्रा सुरूची केसीले आफ्नो अनुभव प्रस्तुत गर्दै सेन्ट लरेन्सको परिवारमैत्री वातावरण, शिक्षकहरूको सहयोगी भूमिका र विद्यार्थीमैत्री शिक्षण पद्धतिले आफ्नो शैक्षिक तथा व्यक्तिगत विकासमा महत्वपूर्ण योगदान पुगेको बताउनुभयो। उहाँले अवसरहरूको सदुपयोग गर्दै आत्मविश्वासका साथ अध्ययनमा केन्द्रित हुन नवआगन्तुक विद्यार्थीहरूलाई सुझाव दिनुभयो।
कार्यक्रममा म्यानेजमेन्ट कोअर्डिनेटर श्यामप्रसाद कोइरालाले कलेजका नियम तथा अनुशासनसम्बन्धी विषयमा विद्यार्थीहरूलाई जानकारी गराउनुभयो।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा प्रमुख अतिथि मनोज गजुरेलले हास्यव्यङ्ग्य प्रस्तुति दिनुका साथै विद्यार्थीहरूलाई प्रेरणादायी मन्तव्य प्रदान गर्नुभयो। कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य, गायन तथा सिर्जनात्मक प्रस्तुतिमार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए।
सो अवसरमा पर्वतारोही मिङमार तामाङ तथा विभिन्न क्षेत्रमा सफलता हासिल गरेका कलेजका पूर्वविद्यार्थीहरूलाई सम्मान गरिएको थियो।

विज्ञान, व्यवस्थापन, मानविकी तथा कानुन संकायमा अध्ययनको अवसर उपलब्ध गराउँदै आएको सेन्ट लरेन्स कलेजले हरेक वर्ष नवआगन्तुक विद्यार्थीहरूलाई शैक्षिक वातावरण, अध्ययन पद्धति, अवसर र भविष्यको करियर योजनाबारे जानकारी गराउने उद्देश्यले यस्ता अभिमुखीकरण कार्यक्रम आयोजना गर्दै आएको छ।


divya collage
unigloble collage