कोशी प्रदेशमा विविध कार्यक्रमसहित ७१औँ प्रहरी दिवस–२०८३ भव्य रूपमा सम्पन्न

546
shares

विराटनगर, असोज ३० । नेपाल प्रहरी संगठन स्थापना भएको ७१औँ वर्ष पूरा भएको अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर तथा प्रदेशअन्तर्गतका जिल्ला प्रहरी कार्यालयहरूमा विविध कार्यक्रम आयोजना गरी ७१औँ प्रहरी दिवस–२०८३ भव्य रूपमा सम्पन्न भएको छ। यस वर्षको प्रहरी दिवस ‘विपद्मा सारथी, संकटमा छहारी : प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ मनाइएको हो।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर परिसरमा आयोजित मूल समारोहमा अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै कार्यक्रमको सुरुवात गरिएको थियो। मुख्यमन्त्री कार्कीले बटुकहरूको स्वस्तिवाचनका बीच अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्नुभएको थियो। त्यस अवसरमा वीर अमर प्रहरीको सम्मानमा शोक सलामी तथा मौनधारण गरिएको थियो। कार्यक्रममा उपस्थित अमर प्रहरीका परिवार, अतिथि, पूर्व तथा बहालवाला प्रहरी कर्मचारीलगायतले स्मारकमा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका थिए।

अमर प्रहरी परिवारलाई सम्मान, संयुक्त राष्ट्रसंघीय पदक हस्तान्तरण

कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष सरिता खनाललगायत संघका पदाधिकारीहरूले अमर प्रहरीका परिवारलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए।
संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ UNAMID मिसनमा खटिएका बेला कर्तव्यपालनको क्रममा वीरगति प्राप्त गर्नुभएका प्रहरी कार्यालय सहयोगी अमर प्रहरी उमेशकुमार मेहत्तरलाई संयुक्त राष्ट्रसंघले प्रदान गरेको ‘ड्याग ह्यामरसोल्ड पदक’ (Dag Hammarskjöld Medal) उहाँका परिवारका सदस्यलाई मुख्यमन्त्री कार्कीले हस्तान्तरण गर्नुभएको थियो। सो अवसरमा परिवारका सदस्यलाई दोसल्ला ओढाएर सम्मानसमेत गरिएको थियो।

उत्कृष्ट प्रहरी कर्मचारी पुरस्कृत, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति

समारोहमा प्रहरी कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभाव, संघसंस्थाका प्रतिनिधि, प्रहरीलाई निःशुल्क जग्गा उपलब्ध गराउने जग्गादाता तथा अक्षयकोष र पुरस्कार कोषका संस्थापकहरूलाई सम्मान गरिएको थियो।
त्यसैगरी, एसईई तथा उच्च शिक्षाका परीक्षामा उत्कृष्ट अंक हासिल गर्न सफल बहालवाला प्रहरी, पूर्वप्रहरी तथा अमर प्रहरीका परिवारका जेहेन्दार सन्ततिलाई छात्रवृत्ति प्रदान गरिएको थियो।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको सुरक्षा, ट्राफिक व्यवस्थापन, अपराध अनुसन्धानलगायत प्रहरीका विभिन्न कार्यक्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई नगद पुरस्कार प्रदान गरी सम्मान गरिएको थियो।
कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी दिवसका अवसरमा सम्पूर्ण प्रहरी कर्मचारीलाई दिनुभएको शुभकामना सन्देश वाचन गर्नुभएको थियो। उहाँले उपस्थित अतिथि तथा सहभागीहरूलाई स्वागत मन्तव्यसमेत व्यक्त गर्नुभएको थियो।
प्रहरीको योगदानको मुख्यमन्त्री कार्कीद्वारा प्रशंसा
समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वीर अमर प्रहरीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्नुभयो।
उहाँले नेपाल प्रहरीले स्थापना कालदेखि विभिन्न चुनौती र आरोह–अवरोह पार गर्दै राष्ट्र तथा नेपाली जनताको सुखदुःखमा अग्रपङ्क्तिमा रहेर इमानदारीपूर्वक सेवा प्रदान गर्दै आएको उल्लेख गर्नुभयो।
विभिन्न विधामा पुरस्कार तथा अक्षयकोष स्थापना गरी प्रहरी कर्मचारीको मनोबल उच्च बनाउन योगदान पुर्‍याउने व्यक्तित्व र प्रहरीलाई निःशुल्क जग्गा उपलब्ध गराउने जग्गादाताप्रति मुख्यमन्त्री कार्कीले आभार व्यक्त गर्नुभयो।
साथै, पुरस्कृत प्रहरी कर्मचारी तथा छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीलाई बधाई दिँदै आगामी दिनमा अझ उत्कृष्ट कार्यसम्पादन गर्न र शैक्षिक क्षेत्रमा थप सफलता हासिल गर्न प्रेरित हुन आग्रह गर्नुभयो।

प्रदेशका विशिष्ट व्यक्तित्वहरूको सहभागिता

कार्यक्रममा कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पा, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश राजनप्रसाद भट्टराई तथा कोशी प्रदेश सरकारका प्रमुख सचिव नारायणप्रसाद भट्टले प्रहरी दिवसको शुभकामना व्यक्त गर्नुभएको थियो।

कार्यक्रमको अन्त्यमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले अमर प्रहरीप्रति श्रद्धासुमन अर्पण गर्दै प्रहरी संगठनप्रति गहिरो सम्मान, माया र प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री कार्कीलगायत सम्पूर्ण अतिथि तथा सहभागीप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो।
सोही अवसरमा प्रदेश प्रहरी प्रमुख खनालले मुख्यमन्त्री कार्कीलाई ‘टोकन अफ ग्र्याटिच्युड’ प्रदान गरी सम्मान गर्नुभएको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083