रियाल मड्रिडलाई स्पेनिस सुपर कपको उपाधि
वि.सं.२०७६ पुस २८ सोमवार ०६:२१
shares

काठमाडौं । एट्लेटिको मड्रिडलाई हराउँदै स्पेनिस महारथी रियाल मड्रिडले स्पेनिस सुपर कपको उपाधि जितेको छ । गएराति सम्पन्न खेलमा एट्लेटिको मड्रिडलाई पेनाल्टी सुटआउटमा ४-१ गोलले पराजित गर्दै रियालले उपाधि जितेको हो । साउदी अरबको जेदाहास्थित किङ अब्दुल्लाह स्पोर्टस् सिटीमा निर्धारित र थपिएको अतिरिक्त समयमा दुवै तर्फबाट गोल नहुँदा खेलको निर्णय पेनाल्टीबाट गरीएको हो ।
अतिरिक्त समयमा १० खेलाडीमा समेटिएको रियालले एट्लेटिकोमाथि जित निकाल्दा ड्यानियल कार्भाहल, रोड्रिगो, लुका मोड्रिच र कप्तान सर्जियो रामोसले गोल गरे । एट्लेटिकोका किरियन ट्रिपिएर मात्रै गोल गर्न सफल हुँदा साउल निग्वेज थोमसको प्रहार किपरले रोेकेका थिए । पेनाल्टीअघि निर्धारित र अत्तिरिक्त समयमा रियालले एट्लेटिकोमाथि दबाब बनाए पनि गोल गर्न सकेको थिएन ।
अतिरिक्त समयको २५औं मिनेटमा फेडरिको भालभेर्डे रातो कार्डको सामना गर्दै बाहिरिएपछि रियाल १० खेलाडीमा समेटियो थियो । अल्भेरो मोराटालाई फाउल गरेपछि रेफ्रीले रियालका भालभेर्डेलाई दोहोरो पहेंलो कार्ड दिँदै बाहिर पठाएपछि खेल केहीबेर तनावपूर्ण बन्यो । त्यसपछि रेफ्रीले रियालका कार्भाहल र एट्लेटिकोका एन्जल कोरेरा र स्टेफान साभिकलाई पहेंलो कार्ड देखाएका थिए ।















