नेपाली पत्रकारलाई चिनियाँ भाषा प्रशिक्षण

6.46K
shares

काठमाडौँ । नेपाल–चीन मिडिया फोरम र काठमाडौँ विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युटको आयोजनामा नेपाली पत्रकारका लागि चिनियाँ भाषा र संस्कृतिबारे ललितपुरमा तीनमहिने प्रशिक्षण शुरु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रशिक्षणको आज उद्घाटन गर्दै नेपाल र चीन समस्यारहित सम्बन्ध भएका मुलुकमा पर्ने भएकाले सम्बन्धलाई थप नयाँ आयामका साथ विकसित गर्नुपर्ने बताए ।

उनले चीनसँग सरकार, जनता र संस्कृतिका क्षेत्रमा सुमधुर सम्बन्ध रहँदै आएको उल्लेख गर्दै नेपाल भ्रमण वर्ष २०२० शुरु भएको र चिनियाँ पर्यटक बढ्ने अपेक्षा गरिएका बेला पत्रकारलाई भाषा सिकेर सद्भावनादूत बनी भूमिका खेल्न आग्रह गरे । मन्त्री पोखरेलले एकापसमा सिक्न र आफ्नो संस्कृति बुझ्न आवश्यक भन्दै आधुनिककालमा आपसी सम्बन्धलाई नयाँ आयामका साथ विस्तार गर्न र नेपालको मौलिक संस्कृति चीनसमक्ष पुयाउन पनि अनुरोध गरे । मिडिया फोरम तथा प्रेस काउन्सिल नेपालका कावा अध्यक्ष किशोर श्रेष्ठले नेपालमा बढी बढीभन्दा चिनियाँ पर्यटक आउने सम्भावना बढेका बेला समाजका सबै क्षेत्रका मानिसले चिनियाँ भाषा सिकेमा मुलुकका लागि लाभदायक हुने बताए ।

कन्फ्युसियस इन्स्टिच्युटका निर्देशक प्रा. डा. वाङ शेन्ग्लीले पत्रकारले चीनमा के हुँदैछ र नेपालप्रति चीनको दृष्टिकोण के हो भन्नेबारेमा जानकार हुने र चिनियाँ भाषामा समेत समाचार लेख्न सक्ने वातावरण सिर्जना हुने बताए । उनले राम्रा शिक्षक र पाठ्यसामग्री उपलब्ध गराएर चिनियाँ भाषा र संस्कृति सिकाइने तथा उत्कृष्ट प्रशिक्षार्थीलाई चीनमा अध्ययनका लागि छात्रवृत्तिसमेत उपलब्ध गराइने जानकारी दिए । काठमाडौँ विश्वविद्यालयका रजिष्ट्रार डा सुबोध शर्माले सन् २०१२ मा स्थापित कन्फुसियस इन्ष्टिच्युटले हालसम्म १२ हजार जनालाई चिनियाँ भाषा प्रशिक्षण दिएको जानकारी दिए । प्रशिक्षणमा ५७ जना पत्रकार सहभागी छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083