अर्थमन्त्री स्वर्णिम वाग्लेको पहिलो निर्णय: १५ ऐन खारेजी प्रक्रिया अघि बढ्ने, आर्थिक श्वेतपत्रका लागि कार्यदल गठन
वि.सं.२०८२ चैत १३ शुक्रवार १५:००
shares

१३ चैत , काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्मा अर्थमन्त्री नियुक्त भएका डा. स्वर्णिम वाग्ले ले पदभार सम्हाल्दै महत्वपूर्ण नीतिगत निर्णयहरू गरेका छन्।
शुक्रबार कार्यभार सम्हाल्ने क्रममा वाग्लेले राजस्व अनुसन्धान विभागसहित १५ वटा ऐन खारेज गर्ने प्रक्रियालाई अघि बढाउने निर्णय गरेका हुन्। यसका लागि आवश्यक अध्ययन तथा कार्ययोजना तयार पार्न कार्यदल गठन गरिने उनले जानकारी दिए।
उनका अनुसार उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका सिफारिसका आधारमा पुराना तथा अप्रासंगिक कानुनहरू हटाउँदै सम्पूर्ण कानुनी संरचनाको पुनरावलोकन गर्ने लक्ष्य लिइएको छ।
यससँगै, अर्थमन्त्री वाग्लेले १३ चैतसम्मको मुलुकको समग्र आर्थिक अवस्थाको विश्लेषण गर्ने “आर्थिक श्वेतपत्र” (ह्वाइटपेपर) तयार पार्न पनि कार्यदल गठन गर्ने निर्णय गरेका छन्।
“रास्वपाले सार्वजनिक गरेको वाचापत्रअनुसार राज्यले स्वीकार गरेका नीतिहरूलाई कार्यान्वयनमा लैजान कार्ययोजना बनाउने उद्देश्यले कार्यदल गठन गरिएको हो,” वाग्लेले बताए।
उनले आगामी दिनमा बजेट निर्माणमा केन्द्रित हुने, निजी क्षेत्रको सुरक्षाका लागि आवश्यक अध्ययन गर्ने तथा ठूला आयोजना कार्यान्वयनमा सहजीकरण गर्ने तयारी भइरहेको पनि जानकारी दिए।
हाल अर्थतन्त्रमा केही शिथिलता देखिए पनि सुधारका संकेतहरू रहेको उनको भनाइ छ। “राजस्व चुनौतीपूर्ण अवस्थामा छ, बैंक निक्षेप बढेको छ, आन्तरिक शिथिलता चिर्नुपर्ने अवस्था छ,” उनले भने, “अब टुक्रा–टुक्रा काम गरेर हुँदैन, प्रणालीगत समस्या समाधान गर्दै रूपान्तरणकारी बजेट ल्याउनेतर्फ हामी केन्द्रित हुन्छौं।”
अर्थतन्त्रमा अत्यधिक नियमनका कारण देखिएका जटिलता समाधान गर्दै आर्थिक गतिविधिलाई चलायमान बनाउने दिशामा सरकार अघि बढ्ने उनले स्पष्ट पारे।
“जनताले दिएको जिम्मेवारीअनुसार अब समाधानतर्फ अघि बढ्नुपर्छ। सिस्टम सुधारमा समय लाग्छ, तर हामी इमानदार प्रयास गर्नेछौं,” वाग्लेले भने।
उनले आज बस्ने मन्त्रिपरिषद् बैठकबाट पनि थप महत्वपूर्ण निर्णयहरू हुने संकेत गरेका छन्।















